सिंहदरबारमा प्रदर्शनकारीको प्रवेश, मन्त्रालयमा क्षति

जनतापत्र, काठमाडौं — जेनजी आन्दोलनको दोस्रो दिन विभिन्न ठाउँमा प्रदर्शन तीव्र बनेको छ। बिहानदेखि राजधानीलगायत प्रमुख शहरमा युवाहरू समूहगत रूपमा सडकमा उत्रिँदा सुरक्षाकर्मीलाई भीड नियन्त्रण गर्न कठिनाइ भएको बताइएको छ।

दिउँसोतिर आन्दोलनकारीहरूको एक समूह मुलुकको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारमा पुगेको प्रारम्भिक विवरण आएको छ। सुरक्षा घेरा तोड्दै उनीहरू सिंहदरबारको मूल गेट हुँदै भित्र छिरेर केही मन्त्रालयहरूतर्फ धावा बोलेको र त्यहाँ तोडफोड तथा भौतिक क्षति पुर्याएको जनाइएको छ।

सरकारले स्थिति नियन्त्रणमा लिन अतिरिक्त सुरक्षा बल परिचालन गरेको छ। सिंहदरबार क्षेत्रमा हाल उच्च सतर्कता अपनाइएको छ भने प्रशासनिक कार्यलाई सुरक्षित स्थानबाट निरन्तरता दिने तयारी भइरहेको अधिकारीहरूले बताएका छन्।

२४ भाद्र २०८२, मंगलवार १४:०२