सार्वजनिक बिदा बढाउन कति सम्भव ?


इन्द्र अधिकारी ।
साताको कार्यदिन छोट्याउँदा कम्पनी र संगठनका साथसाथै राष्ट्रिय उत्पादकत्वमा वृद्धि भएको विभिन्न अध्ययनले देखाएका छन् । काम र परिणाम केन्द्रित हुनुभन्दा हाजिर गराएर तलब खाएको महसुस गराउने नियन्त्रणमुखी प्रशासकीय सोचमा रुमल्लिएको नेपालले अन्यत्रका अभ्यास र परिणामबाट सिक्ने कि ?
सार्वजनिक बिदाका सन्दर्भमा नेपाल धेरैका लागि नौलो देश भएको छ । विश्वका कमै देशमा आइतबार अफिस–डे (कार्यदिन) पर्ने गर्छ । त्यसै कारण पनि नेपाल आएर केही दिन बिताउने विदेशीले यहाँको सार्वजनिक बिदाबारे प्रश्न गर्छन् ।

पछिल्ला सरकारले कुनै दुर्घटना या पदमा रहेका मान्छेको निधनको शोकमा बिदा दिने गरेका कारण पनि कसरी अकस्मात् बिदा भयो होला भनेर प्रश्न गर्नु स्वाभाविक हो ।

पछिल्लो समय सार्वजनिक बिदाको विषयले आन्तरिक रूपमा पनि चर्चा पाउन थालेको छ । केही समयअघि पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सार्वजनिक बिदाका विषयमा सामाजिक सञ्जालमार्फत बहसको सुरुवात गर्दै लेखे– ‘नेपालमा सार्वजनिक बिदा धेरै भयो, कटौती गरौं ।’ उनलाई पछ्याएझैं देखिने गरी स्वतन्त्र सांसद अमरेशकुमार सिंहले प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिमा समय लिएर उही विषय उठान गरे । ‘बिदा धेरै भएका कारण जनतालाई प्रभावकारी काम दिन नसकिरहेको, कर्मचारीले काम गर्नुपर्ने भए पनि वर्षमा झन्डै दुई महिना शनिबार पर्ने र प्रदेश तथा स्थानीय तहले आ–आफ्नै ढंगले बिदा दिने प्रवृत्ति बढेकाले सार्वजनिक बिदा कटौती गर्नुपर्ने’ उनको प्रस्ताव थियो । यी दुवै सन्दर्भले राम्रै मिडिया स्पेस पाएका कारण यस आलेखमा सार्वजनिक बिदा सन्दर्भमा विश्व परिवेशलाई नेपालसँग जोडेर हेर्ने प्रयास गरिएको छ ।

माथि भनिएझैं के नेपालमा सार्वजनिक बिदा धेरै हो ? तथ्यांकले त्यसो भन्दैन । सार्वजनिक बिदाका दुई पहलु छन्, एउटा हरेक सप्ताहान्तमा हुने बिदा र अर्को विभिन्न चाडपर्व–उत्सवमा हुने बिदा । सप्ताहान्तबाहेक सार्वजनिक बिदा मनाउनेमा नेपाल विश्वमा अग्रणी देखिएको छ । २०८० सालमा ३५ दिन सरकारी कार्यालय बन्द भए भने यस वर्ष २७ चाडपर्व र ७ अन्य उत्सवसहित ३४ दिन सार्वजनिक बिदाका नाममा कार्यालय बन्द हुँदै छन् । तर सप्ताहान्तका दिनसमेत जाडेर हेर्दा नेपालले मनाइरहेको सार्वजनिक बिदा अत्यन्त कम छ । पश्चिमा देशमा चाडपर्व र उत्सवमा हुने बिदा वर्षमा १० देखि २० दिनको हुन्छ । त्यहाँ मनाइने दुईदिने सप्ताहान्तले नेपालमा भन्दा कार्यालय धेरै दिन बन्द हुन्छन्, कर्मचारीले बढी बिदा मनाउन पाउँछन् ।

११ दिन मात्र चाडपर्व र उत्सवमा हुने बिदा मनाउने अमेरिकामा वर्षमा सरदर ११५ दिन कार्यालय बन्द हुन्छन् र कर्मचारी घर बस्न पाउँछन् । नेपालमा अहिलेको अवस्थामा ५१ देखि ५२ दिन सप्ताहान्त या शनिबार, ३४ देखि ३५ दिन चाडपर्व र उत्सवमा हुने बिदा हुन्छ । अरू २–३ दिनको कसैको निधन या दुर्घटनामा दिइने अपर्झट बिदासमेत जोड्दा बढीमा ९० दिन अर्थात् अमेरिकाको भन्दा २५ दिन कम बिदा हुने गरेको पाइन्छ । यो म्यानमारको भन्दा ४५ दिन, इरान र श्रीलंकाका भन्दा ४० दिन, भारतको भन्दा ३६ दिन र चीनको भन्दा झन्डै ३० दिन कम हो । त्यहाँ बिहान ९ बजेदेखि सुरु हुने कार्यालय समय र नेपालका प्रायः सरकारी कार्यालयमा कार्यान्वयनमा ल्याइएको १० बजेदेखिको समयको सन्दर्भ बचत हुने जम्मा ५ घण्टा हो । शुक्रबारको २–३ घण्टा जोड्ने गरे पनि कार्यालय जाने–आउने तयारीमै समय जाने कारण यी सीमित घण्टा कर्मचारीको गुणस्तरीय पारिवारिक समयका दृष्टिले त्यति फलदायी भन्न सकिन्न ।

सप्ताहान्त बिदाको इतिहास हेर्दा अमेरिकी कार उत्पादक हेनरी फोर्डले आजभन्दा ९९ वर्ष अगाडि अर्थात् सन् १९२६ मा काम गर्ने समय हप्ताको ६ बाट घटाएर ५ दिनमा ल्याएका थिए । उनको छोरा इड्सेल फोर्डको हवाला दिँदै न्युयोर्क टाइम्सले लेखेको छ– ‘हरेक मान्छेलाई आराम र मनोरञ्जनका लागि हप्तामा १ दिनभन्दा बढी समय चाहिन्छ । हरेक मान्छे गुणात्मक हिसाबले जिउन उसलाई धेरै समय परिवारसँग बिताउने गरी व्यवस्था गर्न आवश्यक छ ।’

नेपालमा भने २०२२ मई १५ देखि हप्तामा दुई दिन बिदा सुरु गरे पनि एक महिना नहुँदै त्यसलाई खारेज गरियो । खारेजीको कारण दिँदै भनियो कि ‘इन्धनमा बचत होला भनेर बिदा त दिइयो, तर त्यसो भएन । अर्कातिर कार्यालयमा काम लिनेको चाप बढ्यो ।’

यस्तो व्यवस्था सुरु गरेको अर्को हप्ता नै परिणाम खोज्ने र ३–४ हप्ताको अनुभवका आधारमा उद्देश्य सफल भएन भन्ने निक्र्योल नै कच्चा थियो । बल्लतल्ल हप्तामा दुई दिन बिदा पाउँदा सुरुका केही हप्ता त यसअघि गर्न नसकेर टरिरहेका भेटघाट, जान नसकेका स्थानको भ्रमण आदिमा अवश्य बित्थ्यो । विस्तारै त्यो समय घरपरिवारमा, आफन्त तथा साथीभाइसँग र मनोरञ्जनमा लाग्थ्यो । त्यसबेलाको अर्को कमजोर पक्ष भनेको सरकारले त्यो नियम लगाइरहँदा सरकारीभन्दा बढी रोजगारी दिइरहेका अन्य क्षेत्रमा लागू थिएन । बहुदलीय व्यवस्थाको पुनःस्थापनासँगै गठित प्रशासकीय पुनर्संरचना आयोगले हप्तामा ५ दिन कार्यालय समय बनाउन सिफारिस गरेको देखिन्छ । लोडसेडिङ घटाउन सहयोग पुग्ला भनेर गरिएको उक्त सिफारिस तत्काल कार्यान्वयन नभए पनि त्यसको झन्डै दशकपश्चात् तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले काठमाडौं उपत्यकामा त्यसलाई लागू गर्ने प्रयास गरे । तर त्यो प्रयास एक वर्ष पनि नटिकी फिर्ता लिइयो । दुई दशकपश्चात् आएर योगेश भट्टराई पर्यटनमन्त्री भएका बेला भ्रमण वर्ष तयारीको मौका पारी कार्यालयमा हप्तामा २ दिन बिदाको छलफल ब्युँताएको देखिन्छ । यसले आन्तरिक पर्यटन बढाउने भनेर एक अध्ययन समिति नै बनाइएको थियो । समितिले गरेको एसियाका ४३ सहित १२७ देशको अध्ययनअनुसार ११६ देशमा हप्ताको ५ दिने कार्यालय समय रहेको देखिएको थियो भने नेपालबाहेक सबै ३८ एसियाली मुलुकमा ५ दिने कार्यालय समय र २ दिने सप्ताहान्तको अभ्यास थियो । तर एकाएक कोभिड महामारीले आवतजावतमा प्रभाव पारेपपछि त्यो प्रस्ताव अगाडि बढ्न त के भ्रमण वर्षको अवधारणा नै धरापमा प¥यो ।

कोभिड महामारीले विश्वको काम गर्ने तरिकामा आमूल परिवर्तन गरिदिएको छ । नियमित बैठक, छलफलका लागि कार्यालय नै पुगिरहनु पर्दैन । एउटै हलमा बसेर गरिने अन्तरक्रिया भर्चुअल प्लाटफर्मको सहायतामा आ–आफ्ना घर या फरक–फरक कार्यस्थलबाट गर्न सकिन्छ । कामको प्रकृति हेरेर कार्यालयमा उपस्थित नभई गर्न सकिने कतिपय यस्ता कामका लागि पश्चिमा देशमा ‘वर्क फ्रम होम’ को अभ्यासले बढावा पाइरहेको छ । नेपालकै कतिपय संस्थामा पनि यस्ता अभ्यास सुरु भइसक्दा सरकारी क्षेत्रको सुरु गरेको अभ्यास एक महिना नपुग्दै फिर्ता लिनुलाई हाम्रो समाजको संकीर्ण वा परम्परागत सोचको उपज भन्न सकिन्छ ।

नेपालको उल्टो यात्रा

विश्व परिवेशमा अब हप्ताको दुई दिन होइन, बिदालाई तीन या चार दिनमा लैजाने बहस चल्दै छ । १९२६ मा फोर्डले सुरु गरेको अभ्यासबाट एक कदम अघि बढेर सन् १९५६ मा अमेरिकाका तत्कालीन उपराष्ट्रपति रिचर्ड निक्सनले निकट भविष्यदेखि नै कार्यालय समय ५ दिनबाट ४ दिने बनाएर ‘अमेरिकी जनतालाई पूर्ण रूपमा पारिवारिक समय’ उपलब्ध गराउने घोषणा गरे । अबको समय तीनदिने सप्ताहान्तको हुने भन्दै दि ट्र्रिब्युटमा (२०२२ जनवरी २१) अद्रिएन म्याममिहन लेख्छन्– ‘हप्तामा चार दिन काम ! नामक नयाँ’ कार्यक्रमले बेलायतमा मात्र नभई निरन्तर विश्वव्यापी बढावा पाइरहेको छ, किनभने यसमा श्रमिकको तलबमा नोक्सान हुने छैन ।’

छोटो कार्यसप्ताहका रूपमा यसले गति लिनुमा सयौं संगठनले यसमा लिएको चासो र रुचि पनि हो । बेलायतस्थित अटोनोमीजस्ता नेतृत्वदायी थिंकट्यांक र क्याम्ब्रिज, अक्सफोर्ड र बोस्टन कलेजका अनुसन्धानकर्ताले ‘फोर डे विक ग्लोबल’ तथा ‘फोर डे विक यूके’ क्याम्पेनको ब्यानरमा सुरु गरेकामा विस्तारै सयौं संगठनले यसमा चासो र रुचि देखाइरहेका छन् । छोटो कार्यहप्ता नै कमजोर अर्थतन्त्रलाई सन्तुलनमा ल्याउने उपाय हुन सक्छ भन्ने सोचले पनि पछिल्ला दिनमा महत्त्व त्यहाँ पाइरहेका देखिन्छन् । यो सोचलाई आन्दोलनकै रूप दिनेमा बेलायत अग्रणी रहे पनि अन्य देशमा पनि यसबारे काम भएका पाइन्छन् । आइसल्यान्डमा सन् २०१५ देखि २०१९ सम्म लागू गरिएको सार्वजनिक क्षेत्रमा छोटो कार्यहप्ताको परिणामले उत्पादन र श्रमिकको कल्याणमा तीव्र वृद्धि भएको २०२१ मा भएको अनुसन्धान प्रतिवेदनले देखाएको छ । स्कटल्यान्डले कल्याणकारी अर्थतन्त्रको ट्रायलका रूपमा यो प्रतिबद्धता लागू गर्न सन् २०२२ मा र स्पेनले केही समयअघि इच्छुक कम्पनीलाई यस सन्दर्भमा बहुवर्षीय पाइलट परियोजनामा जान प्रोत्साहित गरेको छ । जापानले कामदारलाई चारदिने हप्ता पछ्याउन अनुमति दिन सुझाउँदै प्यानासोनिकजस्तो सबभन्दा ठूलो इलेक्ट्रोनिक कम्पनीले यो नीति लागू नै गरेको पाइन्छ ।

माथि भनेझै प्रायः देशले बैठक, छलफल तथा लेक्चरजस्ता कामका लागि भर्चुअल स्पेसको बढीभन्दा बढी उपयोग गरिरहेका छन् । इमेल र इन्टरनेटको सहारामा कम्प्युटरमार्फत गर्न सकिने कामका लागि कार्यालयमा उपस्थित हुनभन्दा वर्क फर्म होमको विकल्प लिन कर्मचारीलाई प्रोत्साहन गरेको पाइन्छ । तर नेपालले भने कार्यालयमा उपस्थितिको मापदण्डलाई अरू कडाइ गर्न डिजिटल हाजिरीका मेसिन खरिद गर्ने र प्रमुखकहाँ हाजिर कपी राख्ने प्रवृत्तिमा अभ्यस्त गराउन खोज्दै छ । सेवाग्राहीलाई सेवा दिन कार्यालयमै रहनुपर्नेका हकमा मात्र नभई प्राध्यापक, अनुसन्धानदाता र अध्येतासम्मका हकमा यस्तो व्यवस्था लागू गर्दै छ । शैक्षिक संस्था तथा विश्वविद्यालयमा शैक्षिक गतिविधि नै नभए पनि तलब खान प्रत्येक दिन कार्यालय समयमा गएर डिजिटल हाजिरीका मेसिनमा औंठाछाप दिने गरी विकसित गरिएको यो व्यवस्था आफैंमा उल्टो यात्रा हो ।

एक विश्वविद्यालयका कुनै कर्मचारीको उदाहरण दिँदै त्यहाँका प्राध्यापकले भनेका थिए– ‘उनलाई कार्यालय बोलाउनुभन्दा त १० प्रतिशत तलब थपेर घरमै राखिदिए विश्वविद्यालयलाई फाइदा हुन्थ्यो ।’ यो भनाइ अन्यत्र पनि किन लागू हुन्छ भने क्लर्कभन्दा तल्लो तहमा काम गर्नेहरू अधिकांश भनसुन र राजनीतिक निकटताका आधारमा आएका हुन्छन् । उनीहरूको कार्यालय बसाइ बिजुली, पानी, शौचालयलगायतका सुविधामा दबाब दिने सन्दर्भमा मात्र कामयावी देखिन्छ, न कि काम चुस्त बनाउन र उत्पादकत्व बढाउन । अझ बिहान हाजिर गरेर हिँड्ने, बेलुका हाजिर ठोक्न कार्यालय पुग्ने, दिउँसोभरि अरू काममा जाने अभ्यास त छँदै छ ।

कार्यहप्ता छोट्याउँदा एउटा कम्पनी र संगठनका साथसाथै राष्ट्रिय उत्पादकत्वमा वृद्धि भएको विभिन्न अध्ययनले देखाएका छन् । सप्ताहान्त धेरै भएका देशमा बिदाका दिन कामदारलाई आराम र किनमेलका लागि समय जुटाउँछ । सामाजिक, पारिवारिक र साथीभाइसँग भेटघाटको मौका दिन्छ । मनोरञ्जनजस्ता व्यक्तिगत इच्छा पूरा गर्नका साथै नियमित कामको थकानबाट मुक्त भई काममा लाग्न ऊर्जा प्राप्त हुन्छ । भनिन्छ, राम्रो विश्राम पाएका श्रमिक नै उत्तम श्रमिक हुन् । सन् २०१९ मा भएको ‘हेल्दी एन्ड सेफ्टी एक्जुकेटिभ’ को सर्वेक्षणमा ५४ प्रतिशतले काममा अनुपस्थित हुनुको सबभन्दा ठूलो कारण कामको दबाब भनेका छन् । हेन्ले बिजनेस स्कुलको २०१९ को अध्ययनले ४ कार्यदिन कार्यान्ययन गर्दा श्रमिक खुसी देखिए, कम दबाबमा रहे । जसका कारण बिरामी बिदा बस्ने दरमा कमी आयो । परिणामस्वरूप उनीहरू बढी उत्पादन केन्द्रित हुने थाले ।

कार्यालय जानु भनेको जागिरेका परिवारले घरमा स्वस्थ खाना पकाउन÷खान भ्याउँदैनन् । बजारमा पाइने मिसावटयुक्त, प्याकेजिङ गरिएका पत्रु खानामा निर्भर रहनुपर्ने हुन सक्छ । कार्यालयमा कार्यदिन घट्दा उनीहरूले परिवार र साथीभाइलाई समय दिन पाउँछन् । आकस्मिक काम पर्दा कार्यालय छाडेर भाग्नु पर्दैन । कार्यालय जाने दिन घट्दा यातायातका साधन सडकमा कम दौडने भएकाले कार्बन उत्सर्जन कमी आउँछ, जसले सहरको धूलोधूवाँ प्रदूषण घटाउँछ ।

चारदिने कार्यहप्ताको वकालत सुरु गरेको बेलायतले यसमार्फत लैंगिक समानतामा सुधार देखिएको बताएको छ । बेलायतका ६५ प्रतिशत पूर्णकालीन कामदारले घरमा बढी समय बिताउन, बालबच्चा र वृद्धवृद्धाको हेरचाहमा ध्यान दिन पाएका छन् । महिलाले मात्रै गर्नुपरेक
ा घरेलु कामले असमानता बढाएको भनिएको थियो, त्यसमा पुरुषले पनि सघाउने क्रम बढेको छ । काम र परिणाम केन्द्रित हुनुभन्दा पनि हाजिर गराएर तलब खाएको महसुस गराउने नियन्त्रणमूखी प्रशासकीय सोचमा रुमल्लिएको नेंपालले अन्यत्रका यस्ता अभ्यास र परिणामबाट सिक्ने कि ?
(कान्तिपुरबाट)

१६ पुष २०८१, मंगलवार ११:४७