/*php the_title();*/?>

सन्तोष धिताल
जेनजी आन्दोलन राजनीतिक दल, प्रणाली वा संविधान परिवर्तनको लागि नभई सुधारका लागि हो।
जेनजी पुस्ता देशको अस्थिर राजनीति, भ्रष्टाचार, बेरोजगारी र असक्षमताबाट निराश छन्।
जेनजी आन्दोलनले प्रत्यक्ष कार्यकारीको मागलाई सम्बोधन गर्न दबाब दिइरहेको छ।
नेपालको राजनीतिक इतिहासमा समय–समयमा अनेकौँ आन्दोलन भएका छन् । कसैले शासन व्यवस्था बदल्ने माग गरे, कसैले संविधान निर्माणको आन्दोलन चलाए। तर पछिल्लो समय देखिएको जेनजी आन्दोलन ती सबैभन्दा भिन्न प्रकृतिको चेतना हो।
यस आन्दोलनको मूल उद्देश्य कुनै राजनीतिक दल, प्रणाली वा संविधान उल्ट्याउने होइन, बरु वर्तमान अवस्थाको सुधारका लागि थियो। तर विडम्बना के छ भने, अहिले यस आन्दोलनलाई केही स्वार्थी राजनीतिक वृत्तले गलत रूपमा चित्रण गर्न थालेका छन्। उनीहरूका अनुसार यो आन्दोलन दलविरोधी र व्यवस्था परिवर्तनको तयारी हो, तर वास्तवमा जेनजी आन्दोलनको मूल आत्मा त्यसको ठिक विपरीत छ।
जेनजी पुस्ता लामो समयदेखि देशको अस्थिर राजनीति, भ्रष्टाचार, बेरोजगारी र असक्षमताले निराश भएको पुस्ता हो। विगत दुई दशकमा नेपालले राजतन्त्रको अन्त्यदेखि संघीय गणतन्त्रसम्मको ठुलो राजनीतिक रूपान्तरण देख्यो तर देशको प्रशासनिक र आर्थिक अवस्था झन् कमजोर बन्दै गयो। राजनीतिक नेतृत्व बारम्बार बदलिए पनि नीति र सोच उही रह्यो। जनतामा नेतृत्वप्रति विश्वास हरायो र यही निराशाको परिणामस्वरूप युवाहरूले अब ’व्यवस्थाभन्दा पनि अवस्थाको सुधार जरुरी छ’ भन्ने चेतना विकसित गरे। यही चेतनाले जन्म दियो–जेनजी आन्दोलन।
विगतका राजनीतिक आन्दोलनहरू प्रायः शक्ति प्राप्तिका लागि केन्द्रित हुन्थे । जेनजी आन्दोलनले शक्ति होइन, उत्तरदायित्व खोजिरहेको छ। यसले नयाँ संविधान लेख्ने होइन, विद्यमान संविधानभित्र सुधार गरेर शासनलाई जबाफदेही र पारदर्शी बनाउने लक्ष्य राखेको देखिन्छ। जेनजी पुस्ताले ठम्याएको छ कि समस्या लोकतान्त्रिक प्रणालीमा होइन, त्यसलाई चलाउने पुराना नेताहरूमा छ । जसले वर्षौँसम्म सत्ताको चक्रमा बसेर देशलाई अवसर भन्दा निराशा दिएको छ।
जेनजी आन्दोलनको उदयका पछाडि धेरै गहिरा कारण छन्। पहिलो कारण भनेको देशमा व्याप्त संस्थागत भ्रष्टाचार नै हो। राजनीतिबाट प्रशासन, प्रशासनबाट न्यायालय र विकास क्षेत्रसम्म भ्रष्टाचारले जरा गाडेको छ। जनताले कर तिर्छन् तर त्यसको प्रतिफल देख्दैनन्। दोस्रो, अवसरको अभाव हो। लाखौं युवा रोजगारीका खोजीमा बिदेसिएका छन्, जसले देशको श्रमशक्ति र उत्पादकता कमजोर बनाएको छ। तेस्रो, राजनीतिक पुनरावृत्ति हो । तीनै दलका त्यही नेताहरू दशकौँदेखि सत्तामा आइरहेका छन् जसले नयाँ सोच र दृष्टिकोणलाई ठाउँ दिन मानेका छैनन्। यी सबै कारणले युवापुस्तामा आक्रोश, निराशा र अन्ततः चेतना जगाएको हो।
जेनजी आन्दोलन सुरु भएपछि पुराना शक्ति केन्द्रहरू असजिला भए। उनीहरूलाई लाग्यो नयाँ पुस्ताको यो जागरणले उनीहरूको सत्ताको एकाधिकार समाप्त पार्नेछ। त्यसपछि सुरु भयो गलत प्रचारको खेल। जनतामाझ भ्रम फैलाइँदै छ कि यो आन्दोलन संविधान विरोधी, व्यवस्था परिवर्तनको षड्यन्त्र हो भनेर । यो तर्कलाई दलहरूले उजागर गर्नु भनेको फेरि राजनीतिक अस्थिरता ल्याउने प्रयासको रूपमा लिन सकिन्छ । तर यथार्थ एकदमै फरक छ। जेनजी आन्दोलनले संविधानको मर्मलाई नै बलियो बनाउने प्रयास गरेको देखिन्छ भने लोकतान्त्रिक बाटोमै विश्वास गरेको देखिन्छ । भलै जेनजी भित्र पछिल्लो समय पहिले संविधान संशोधन कि आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन भन्ने बहस र विवाद सतहमा देखिन्छ । जसका कारण यतिवेला जेनजी पुस्ता विभिन्न समूहमा विभाजित वनेको आभास हुन्छ ।
आन्दोलनसँगै जेनजी राजनीतिक सहमतिमा बाँधी सकेका छन् । आफूहरू सहमति भन्दा बाहिर जाँदैनौ भन्ने सन्देश पनि यति वेला उनीहरूले दिनु पर्ने छ । आफैले गरेको सम्झौता बाहिर निकासको पहल खोज्नुले थप अस्थिरता निम्त्याउनेमा कुनै शङ्का छैन ।
प्रत्यक्ष कार्यकारीको मागलाई सम्बोधन गर्न नै चाहेको भए जेनजी युवाले विद्रोह पछि राष्ट्रपति सँग भएको वार्ताको बेला बटमलाइन नै त्यही एजेन्डा बनाउनु पर्ने थियो । किन कि कुनै पनि विद्रोह संविधानमा टेकेर हुँदैन । राज्य विहीनताको अवस्थामा हुने सम्झौता पनि राजनीतिक रूपमा नै हुन्थ्यो । तर प्रतिनिधिसभा विघटन र नयाँ ताजा जनदेशमा जाने सहमतिसँगै जेनजीहरु अब आफैले गरेको सम्झौता उलङ्घन गर्न मिल्दैन ।
जेनजीहरुले बुझ्नु पर्ने के छ भने परिवर्तन जनताबाटै, निर्वाचन र जनादेशबाटै सम्भव छ। यो राजनीतिक चक्र भन्दा फरक तरिकाले जेनजी पुस्ताले सोच्नु हुँदैन भन्ने नै हो । निर्वाचन पछि आउने जनादेशलाई टेकेर प्रत्यक्ष कार्यकारी प्रणालीमा जानका लागि संविधान संशोधनको एजेन्डा विना सर्त अघि बढाउन खबरदारी भने निरन्तर आवश्यक छ ।
संविधान संशोधन भन्नासाथ केही राजनीतिक दलहरूलाई डर लाग्छ । जनेजी आन्दोलनबाट सत्ताच्युत भएका दलहरू फेरि प्रतिनिधि सभा पुनस्र्थापनाको एजेन्डालाई अघि सारी रहेका छन् ।
संसद् पुनस्र्थापनाको माग अहिले उठाउनु गलत हो । किन कि आन्दोलन जेनजीहरुले जितेका हुन् हारेका होइन । आन्दोलनमा पराजित शक्तिहरूले आफ्नो हार स्वीकार गर्न नसक्नु गैर राजनीतिक संस्कार हो । यदि राजनीतिक संस्कार स्थापित र राजनीतिलाई लिगमा ल्याउने हो भने दलहरू विना सर्त निर्वाचनमा जानुको विकल्प छैन । त्यसकालागि दलहरूले सरकारलाई सहयोग गर्नुपर्छ ।
जेनजी आन्दोलनबाट संविधान र राज्यका अन्य संरचना बिग्रेको केही पनि छैन । सबै संयन्त्रहरूले आफ्नो काम पनि गरिरहेको अवस्था छ । केवल प्रतिनिधिसभा नभएको मात्र हो ।
प्रतिनिधिसभाको लागि पनि निर्वाचनको मिति घोषणा भई सकेको अवस्था छ । यस अघि पनि मध्यावधि निर्वाचनका लागि प्रतिनिधिसभा विघटन भएकै हो । अहिले र पहिलेको प्रतिनिधिसभा विघटनमा कुनै फरक छैन । फरक त्यति मात्र हो त्यस बेला प्रतिनिधिसभा विघटन आवश्यकता भन्दा पनि राजनीतिक सनकको भरमा गरिएको थियो । तर अहिले राज्य विहीनताको अवस्था अन्त्यका लागि प्रतिनिधिसभा विघटन गरिएको हो । त्यसैले प्रतिनिधिसभा विघटन संवैधानिक, कानुनी रूपमा व्याख्या गर्दै पुनस्र्थापनाको बहस भन्दा पनि आन्दोलनले दिएको म्यान्डेट अनुसार दलहरू जानु पर्ने आवश्यकता छ । यो निर्वाचन दलहरूका लागि आफ्नो जनमत परीक्षण गर्ने अवसर पनि हो । विद्रोहको म्यान्डेट विरुद्ध गएर दलहरूले प्रतिनिधिसभा पुनस्र्थापनाको माग गर्नु अझै दलहरू परिवर्तनलाई स्वीकार गर्न सक्दैनन् भन्ने सन्देश जान्छ नै थप राजनीतिक सङ्कट दलहरूले नै निम्त्याएको ठहरिने पनि छ ।
जेनजी आन्दोलनले जनतालाई सुधारको नयाँ बाटो देखाएको छ। यसको मान्यता छ कि व्यवस्था होइन, त्यसलाई चलाउने सोच परिवर्तन गर्नुपर्छ। परिवर्तन जनताले मतपत्रबाटै ल्याउन सक्छन्। जेनजी पुस्ताले जनतालाई यही सन्देश दिइरहेका छन् कि अब नेताको अनुहार होइन, सोच र कार्यशैलीको मूल्याङ्कन गरेर मत दिनुपर्छ। यी सबै सुधारका एजेन्डाहरू कार्यान्वयन गर्न जेनजी पुस्ता स्वयं बन्नुपर्छ भने राजनीति दलहरू जिम्मेवार देखिनुपर्छ । परिवर्तन केवल सरकार वा नेताबाट होइन, नागरिक चेतनाबाट सुरु हुन्छ। जेनजी पुस्ताले बुझिसकेको छ कि आन्दोलनको अन्त्य सडकमा होइन, नीति निर्माणमा हुन्छ। त्यसैले उनीहरूले निरन्तर खबरदारी र जनचेतनाको भूमिका निर्वाह गरुन् ।
राजनीतिक दलहरूले पनि अब यो सन्देश बुझ्न जरुरी छ कि जेनजी आन्दोलन उनीहरू विरुद्ध होइन। यो कुनै दलमाथि आक्रमण होइन, बरु सुधारको अवसर हो। राज्यको शासकीय प्रणाली परिवर्तनका लागि मात्र हैन हरेक राजनीतिक दल भित्रको सुधारका लागि जेनजी आन्दोलनको सन्देश हो । आन्दोलनबाट विस्थापित भएका अनुहारहरू नै जेनजी आन्दोलनलाई गलत भाष्य निर्माण निर्माण गर्दै यो आन्दोलनको औचित्य छैन भन्दै आफूलाई सही साबित गर्नलागि पर्नु राजनीतिक आडम्वरी पन बाहेक केही होइन ।
जेनजी आन्दोलनलाई कम आकलन गर्दै खिसीटिउरी गर्दा फेरि अर्को विद्रोह जन्माउन सक्छ । किन कि जेनजी आन्दोलनले प्रमुख दलका शीर्ष नेताहरू अयोग्यको प्रमाणपत्र दिईसकेको छ । असफलताको प्रमाणपत्र पाएका नेताहरू नै फेरि राजनीतिको मूलधारमा आउनु हुँदैन । त्यसैले उनीहरूले अब सम्मानपूर्वक राजनीतिक अवकाश लिनु नै देशको हित हो। उनीहरूले नयाँ पुस्तालाई नेतृत्व सुम्पिनुपर्छ, जसले देशलाई नयाँ दृष्टिकोण र सोचका साथ अगाडि बढाउन सकोस्। तर उनीहरू राजनीतिमा सक्रिय नभई नयाँ पुस्ताको लागि सारथि बन्न सक्नु पर्छ । पुराना नेताहरूले सुधार र पुस्ता हस्तान्तरणलाई स्वीकार गरे भने जेनजी आन्दोलनले देशलाई नयाँ दिशा पक्कै दिनेछ। भलै राजनीतिक दलहरूको नेतृत्व सुम्पने आफ्नै प्रक्रिया हुन्छ । तर त्यस अघि नै नेतृत्व छाड्न तयार भएको घोषणा कम्तीमा गर्ने हिम्मत नेताहरूले गरुन् ।
डिजिटल युगमा जन्मिएको जेनजी पुस्ताको सोच र कार्यशैली परम्परागत नेताभन्दा फरक छ। उनीहरू सूचना, प्राविधिक दक्षता र पारदर्शी शासनको पक्षधर छन्। सामाजिक सञ्जाल र स्वतन्त्र मञ्चहरू मार्फत उनीहरूले आफ्ना विचारलाई व्यापक रूपमा फैलाइरहेका छन्। यही डिजिटल सक्रियता भविष्यको राजनीतिक संस्कृतिको नयाँ आधार बन्न सक्छ। देशलाई सुधार्न व्यवस्थालाई होइन, सोचलाई बदल्नुपर्छ। जेनजी आन्दोलन कुनै क्षणिक उत्तेजना नभई दीर्घकालीन सुधारको आरम्भ पनि हो । यसले दलहरूको कार्यशैलीलाई चुनौती मात्र दिएको छैन, नयाँ राजनीतिलाई बाटो पनि देखाएको छ। यो पुस्ताले देखाएको बाटोमा यदि दलहरूले सहयोग गरे भने नेपालले सुशासन, स्थायित्व र पारदर्शिताको नयाँ अध्याय सुरु गर्न सक्छ।( रातोपाटीबाट साभार)
१ कार्तिक २०८२, शुक्रबार १०:५२