संविधान दिवसमा सिन्धुपाल्चोकमा विचार गोष्ठी

जनतापत्र,सिन्धुपाल्चोक-
संविधान दिवस २०८२ को अवसरमा प्रेस चौतारी नेपाल, सिन्धुपाल्चोकले आयोजना गरेको विचार गोष्ठीमा संविधानको संरक्षणलाई सबैको साझा जिम्मेवारीका रूपमा उठाइएको छ। ‘नेपालको संविधान, वर्तमान राजनीति र अवको गन्तव्य’ शीर्षकमा सम्पन्न कार्यक्रममा प्रमुख राजनीतिक दलका प्रतिनिधि, कानूनी पेशाकर्मी, सञ्चारकर्मी र नागरिक समाजका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा नेकपा एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले हालै देखिएका आन्दोलनको निष्पक्ष छानबिन आवश्यक रहेको उल्लेख गर्दै संविधान घाइते भए पनि यसको रक्षा गर्न सबै एकजुट हुनुपर्ने धारणा व्यक्त गरे। प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाले नेतृत्वले ठोस मार्गनिर्देशन दिन नसके भीडतन्त्र हावी हुनसक्ने चेतावनी दिँदै संविधानप्रति सही दृष्टिकोण र सोच आवश्यक रहेको बताए।

त्यस्तै, नेकपा एमाले केन्द्रीय सदस्य तथा सिन्धुपाल्चोक इञ्चार्ज सरेश नेपालले मुलुकलाई प्रतिगमनबाट जोगाउँदै संसदीय प्रणाली सुधार अपरिहार्य भइसकेको बताए। एमाले सिन्धुपाल्चोक अध्यक्ष होमनारायण श्रेष्ठ, माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द पराजुली र नेपाली कांग्रेसका जिल्ला सचिव विलबहादुर तामाङले संविधानको संरक्षणमा कुनै सम्झौता हुन नहुनेमा जोड दिँदै आवश्यक परे संशोधन राजनीतिक सहमतिमार्फत गर्न सकिने धारणा राखे।

कार्यक्रममा अधिवक्ता शशीनाथ आचार्यले नेपालको संविधानलाई संघीय, धर्मनिरपेक्ष, गणतान्त्रिक, समावेशी र समानुपातिक प्रतिनिधित्वमा आधारित दस्तावेजका रूपमा व्याख्या गर्दै यसले स्थायित्व, सुशासन र समावेशिताको बाटो देखाएको बताए। नेपाल वार एसोसिएसन सिन्धुपाल्चोकका अध्यक्ष भूपेन्द्र थिङले प्रतिनिधिसभा विघटन संविधानको मर्म विपरीत भएको औंल्याए भने सञ्चारकर्मी यज्ञ दंगालले नयाँ पुस्ताले प्रतिबद्धता र परिपक्वता देखाउनुपर्ने आवश्यकता उल्लेख गरे।

गोष्ठीले संविधानको संरक्षण, आवश्यक परिमार्जन र समावेशी विकासका लागि सबै राजनीतिक शक्ति, नागरिक समाज र बौद्धिक समुदायको सहकार्य अपरिहार्य हुने निष्कर्ष निकालेको छ।

४ आश्विन २०८२, शनिबार ०६:५४