/*php the_title();*/?>

जनतापत्र, मेलम्ची सिन्धुपाल्चोक ।
महिलाहरूको महान् चाड हरितालिका तीजको उपलक्ष्यमा शुभकामना बचत तथा ऋण सहकारी संस्था लिमिटेडले मेलम्चीमा एक विशेष कार्यक्रम सम्पन्न गरेको छ। मेलम्ची कम्युनिटी अङ्ग्रेजी माध्यमिक विद्यालयमा सम्पन्न भएको यस कार्यक्रममा सहकारीका सदस्यहरूले मनोरञ्जन र सन्देश दुवै दिने प्रस्तुतिहरू दिएका थिए। उनीहरूले नृत्य र गीतका माध्यमबाट महिलामाथि हुने हिंसा, चेलीका पीडा र सहकारीको महत्त्वजस्ता विषयलाई उजागर गरेका थिए। कार्यक्रमका मुख्य अतिथि मेलम्ची नगरपालिकाकी उपप्रमुख उमा प्रधानले तीज पर्वको शुभकामना दिँदै चाडपर्वहरूलाई विकृतिबाट बचाउनुपर्नेमा जोड दिनुभयो। उहाँले संस्कृति संरक्षण गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। यस्तै, सहकारीका अध्यक्ष रुद्रप्रसाद दुलालले संस्थाले सांस्कृतिक कार्यक्रमहरू मात्र नभई सदस्यहरूको हितका लागि विभिन्न चेतनामूलक गतिविधिहरू पनि सञ्चालन गर्दै आएको जानकारी दिनुभयो। उपप्रमुखसँगै निवर्तमान उपप्रमुख भगवती नेपाल र उद्योग वाणिज्य संघ सिन्धुपाल्चोकका पूर्व उपाध्यक्ष रामकृष्ण चालिसे लगायतको उपस्थिति रहेको यस कार्यक्रममा सहभागीहरूले सहकारीलाई निरन्तर अनुगमन गर्नुपर्ने सुझाव दिए। कार्यक्रमको सञ्चालन संस्थाकी संस्थापक प्रतिमा धितालले गर्नुभएको थियो।
६ भाद्र २०८२, शुक्रबार १७:१५