/*php the_title();*/?>

जनतापत्र,काठमाडौं ।
राजधानीको सबैभन्दा सुरक्षित मानिने क्षेत्र, शीतल निवासमा रहेका राष्ट्रपति भवनमा जेन–जी आन्दोलनकारीले आगजनी गरेका छन्। सुरक्षा स्रोतका अनुसार, ठूलो संख्यामा प्रवेश गरेका प्रदर्शनकारीहरूले केहीबेरअघि राष्ट्रपति भवनको मुख्य गेट तोडफोड गर्दै भित्र छिरेका थिए। उनीहरूले नाराबाजी गर्दै भवन परिसरमा आगजनी गरेपछि सुरक्षा निकायहरू आत्तिएको बताइएको छ। हालसम्म भवनको केही भागमा ठूलो क्षति पुगेको प्रारम्भिक जानकारी आएको छ। घटनापछि राष्ट्रपति र निवासमा रहेका परिवारजनलाई सुरक्षित स्थानमा सारिएको भनिएको छ। यद्यपि आधिकारिक रूपमा यसको पुष्टि भइसकेको छैन। आगलागी नियन्त्रणका लागि दमकल टोली खटाइएको छ तर भीड अत्यधिक भएकाले नियन्त्रण कठिन बनेको सुरक्षा अधिकारीहरूको भनाइ छ। शीतल निवास देशकै ‘सबैभन्दा सुरक्षित क्षेत्र’ भनेर चिनिँदै आएको भए पनि आन्दोलनकारी सहजै भित्र प्रवेश गर्न सफल भएको घटनाले सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न खडा गरेको छ।
२४ भाद्र २०८२, मंगलवार १६:१९