/*php the_title();*/?>
जनतापत्र, हेटौडा- बागमती प्रदेश सांसद भारती पाठकले वन तथा वातावरणको माध्यमबाट समृद्धि ल्याउन समुदायमैत्री ऐन आवश्यक रहेको बताउनुभएको छ।
हेटौंडामा रेड प्लस केन्द्र र ग्रीन फाउण्डेशन नेपालको सहजीकरणमा आयोजित ‘बागमती प्रदेश स्थानीय वन संवाद’ कार्यक्रममा बोल्दै सांसद पाठकले समुदायको सहभागिता, परम्परागत ज्ञान, महिलाको भूमिकालाई समेट्ने कानुनी संरचना निर्माणको आवश्यकता औँल्याउनुभयो। उहाँले सरकार, विषयगत समिति र सरोकारवाला निकायहरूको सहकार्यमा नयाँ ऐन निर्माण गर्नुपर्ने बताउनुभयो।

उहाँले जलवायु परिवर्तन, वायु प्रदूषण, र वातावरणीय असरले आदिवासी र विपन्न समुदायहरू प्रभावित भइरहेको उल्लेख गर्दै वनमा आधारित जीवनशैली संकटमा परेको चिन्ता व्यक्त गर्नुभयो। नेपालमा हरित स्रोतहरू पर्याप्त भए पनि तिनको उचित व्यवस्थापन अभाव रहेको उहाँको भनाइ थियो।
पाठकले नेपाल सरकारले सञ्चालन गरेको सगरमाथा संवादबाट वातावरण संरक्षणमा सकारात्मक संकेत देखिएको बताउँदै, हरित कोष र कार्बन कार्यान्वयन कोषलाई तल्लो तहसम्म पुर्याउन जोड दिनुभयो।
उहाँले वनमा आधारित उद्यम विकास गरेर देशलाई समृद्ध बनाउन सकिने विश्वास व्यक्त गर्नुभयो।
१५ जेष्ठ २०८२, बुधबार १०:४९