सुनिता रखाल सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१३ रातमाटेमा ४५ दिने गलैंचा बुनाई तालिम सञ्चालन गरिएको छ ।
दलित सशक्तीकरण तथा सीप विकासलाई लक्षित गर्दै आयोजना गरिएको तालिम जेठ १ गतेदेखि असार १४ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

“उद्यम गरौं, आत्मनिर्भर बनौं” भन्ने नारासहित सुरु गरिएको तालिममा स्थानीय महिलाहरूको उत्साहजनक सहभागिता रहेको छ । घरेलु तथा साना उद्योगमार्फत आयआर्जन वृद्धि गर्ने उद्देश्यले तालिम आयोजना गरिएको हो । तालिममा सहभागीलाई गलैंचा बुनाईसम्बन्धी व्यवहारिक तथा सीपमूलक प्रशिक्षण प्रदान गरिनेछ ।
तालिम उद्घाटन कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिकाकी उपप्रमुख सिता थापाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा महिला विकास शाखाका प्रमुख पेशल पोखरेल, स्थानीय पत्रकार, समाजसेवी तथा स्थानीयवासीहरूको उपस्थिति रहेको थियो ।
उद्घाटन कार्यक्रममा बोल्दै उपप्रमुख थापाले महिलालाई आत्मनिर्भर र आर्थिक रूपमा सशक्त बनाउन नगरपालिकाले विभिन्न सीपमूलक कार्यक्रम सञ्चालन गर्दै आएको बताइन् । उनले सीप सिकेर आयआर्जनतर्फ अघि बढ्न सहभागी महिलालाई आग्रह गर्दै यस्ता तालिमले घरपरिवारको आर्थिक अवस्था सुधार गर्न सहयोग पुग्ने धारणा व्यक्त गरिन् ।
कार्यक्रम दलित सशक्तीकरण समाज चौतारा साँगाचोकगढी–१३ को आयोजनामा सञ्चालन भएको हो भने चौतारा साँगाचोकगढी नगरपालिकाको महिला विकास शाखाले आर्थिक सहयोग गरेको जनाएको छ ।
स्थानीय स्तरमै सीप सिकेर आत्मनिर्भर बन्न सहयोग पुग्ने विश्वास लिइएको छ । तालिमपछि सहभागीहरूले गलैंचा उत्पादनमार्फत स्वरोजगार सिर्जना गर्न सक्ने अपेक्षा गरिएको छ । साथै यस्ता सीपमूलक तालिमले महिलाको आर्थिक सशक्तीकरणसँगै परिवारको आयस्तर सुधार गर्न महत्वपूर्ण भूमिका खेल्ने स्थानीयवासीले बताएका छन् ।
७ जेष्ठ २०८३, बिहीबार ०६:०१