/*php the_title();*/?>
जनतापत्र, सिन्धुपाल्चोक – मेलम्ची नगरपालिका वडा नं. १२ मा एकल र अपांगता भएका महिलाहरूका लागि तीन दिने बाख्रापालन तालिम सम्पन्न भएको छ।

मिति २०८२ साल जेठ ९ गतेदेखि ११ गतेसम्म वडा कार्यालयमा सञ्चालन गरिएको तालिममा स्थानीय महिलाहरूको उल्लेखनीय सहभागिता रह्यो।
तालिमको आयोजना मेलम्ची नगरस्तरिय एकल महिला सञ्जालको समन्वयमा गरिएको थियो। कार्यक्रममा नगरस्तरीय एकल महिला सञ्जालकी अध्यक्ष सुनिता देउजाले अध्यक्षता गर्नुभयो। कार्यक्रमका प्रमुख अतिथि वडा नं. १२ का वडा अध्यक्ष गणेश तामाङ रहनुभयो भने महिला, बालबालिका तथा सामाजिक समावेशीकरण शाखाका प्रमुख राजेन्द्र दुलाल विशेष अतिथिका रूपमा सहभागी हुनुभयो।

तीन दिनसम्म सञ्चालन गरिएको तालिममा सहभागी महिलाहरूलाई बाख्रापालनका प्रविधि, आहार व्यवस्थापन, रोग नियन्त्रण, गोठ व्यवस्थापन लगायतका व्यवहारिक तथा सैद्धान्तिक विषयहरूमा तालिम प्रदान गरिएको थियो। तालिम प्रशिक्षित जनशक्तिको सहकार्यमा सञ्चालन गरिएको थियो।
तालिमको उद्देश्य एकल र अपांगता भएका महिलाहरूलाई आयआर्जनमुखी सीपमा सक्षम बनाउँदै आत्मनिर्भर जीवनयापनमा सहयोग पुर्याउनु रहेको आयोजक संस्थाले जनाएको छ।

कार्यक्रमको समापनमा सहभागी महिलाहरूले तालिमबाट आफूहरू उत्साहित भएको बताउँदै भविष्यमा आफ्नै रूपमा व्यवसाय सुरु गर्ने विश्वास व्यक्त गरेका थिए ।
१२ जेष्ठ २०८२, आईतवार २०:३९