मेलम्ची–१० मा शिक्षामा ऐतिहासिक फड्कोस् कक्षा ५ सम्म अनिवार्य अंग्रेजी माध्यम

जनतापत्र,सिन्धुपाल्चोक ।
मेलम्ची नगरपालिका–१० मा शिक्षा क्षेत्रलाई आधुनिक, प्रतिस्पर्धी र गुणस्तरीय बनाउने लक्ष्यसहित महत्वपूर्ण निर्णयहरू गरिएको छ। हिरादेवी आधारभूत विद्यालय मा सम्पन्न वडा शिक्षा समिति बैठकले बहुपक्षीय शैक्षिक सुधारका योजनाहरू पारित गरेको हो। बैठकमा वडा अन्तर्गतका सबै विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा शिक्षकहरूको उल्लेख्य सहभागिता रहेको थियो। निर्णयअनुसार आगामी शैक्षिक सत्र २०८३ देखि नर्सरीदेखि कक्षा ५ सम्म सबै विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन सञ्चालन गरिनेछ। त्यसैगरी, विद्यालयहरूमा आवश्यक पाठ्यपुस्तक तथा होमवर्क डायरी खरिदका लागि वडा कार्यालयले आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरिएको छ।

विद्यार्थीहरूको समग्र प्रस्तुति सुधार गर्न ड्रेस, जुत्ता, मोजा, टाइ, बेल्ट र परिचयपत्र अनिवार्य गरिनेछ भने यस विषयमा अभिभावकहरूलाई जानकारी दिन अभिभावक भेला आयोजना गरिने सहमति भएको छ। शिक्षकहरूको क्षमता अभिवृद्धिका लागि २०८३ वैशाखको पहिलो सातादेखि विशेष तालिम सञ्चालन गरिने शितलादेवी माध्यमिक विद्यालय का प्रधानाध्यापक रमेश चापागाईंले जानकारी दिनुभयो। साथै, विद्यालयमा नियमितता, अनुशासन र अभिभावकको सक्रिय सहभागितामा सुधार कार्यक्रम अघि बढाइने वडा अध्यक्ष अमृत खनालले बताउनुभयो। अंग्रेजी माध्यम कार्यान्वयनलाई प्रभावकारी बनाउन ५ सदस्यीय तयारी समिति गठन गरिएको छ। यी निर्णयहरूले वडा स्तरमै शिक्षा क्षेत्रमा नयाँ ऊर्जा थप्ने विश्वास गरिएको छ। वडा शिक्षा समितिले सम्पूर्ण अभिभावक, शिक्षक तथा सरोकारवालालाई यस अभियानमा साथ, सहयोग र सक्रिय सहभागिता जनाउन अपिल गरेको छ।

२२ चैत्र २०८२, आईतवार २०:३२