/*php the_title();*/?>
चण्डिका नेपाली , सिन्धुपाल्चोक – मेलम्ची नगरपालिकाको आयोजनामा तीन दिने व्यवसायिक गाईभैंसी पालन सम्बन्धी तालिम सम्पन्न भएको छ। तालिममा नगरपालिकाको पशु शाखा प्रमुख उपेन्द्र पण्डितसहित दिपक थापा, विनोद तामाङ, उषा कार्की, पविन गिरि र आदेश रानामगरले सहजीकरण गरेका थिए।

तालिमको दौरानमा गाईभैंसी पालनको महत्व, वर्तमान अवस्था, तथा विभिन्न जातका गाईभैंसीका विषयमा जानकारी दिइयो। शाखा प्रमुख पण्डितले गाईभैंसी पाल्ने तरिका स्थान विशेषको हावापानी, आहाराको उपलब्धता, सामाजिक परम्परा, जनशक्ति र बजार व्यवस्थामा भर पर्ने बताए।

सहजीकरणमा दिपक थापाले व्यवसायिक पालनका तरिकाहरू तथा आवश्यक पूर्वतयारीबारे सहभागीलाई जानकारी गराए। तालिममा सहभागी महिलातर्फबाट राधाकुमारी बन्जराले आफूले तीन दिनमा थुप्रै नयाँ कुरा सिकेको बताइन् भने पुरुषतर्फका सहभागी दिपेन्द्र गुरागाईंले प्रायोगिक तालिम अझ प्रभावकारी हुने धारणा राखे।
मेलम्ची नगरपालिकाका २६ जना सहभागी रहेको तालिममा वडा नं. ११ की वडा सदस्य प्रतिमा धितालले सिकेका कुरा व्यवहारमा उतार्न आग्रह गर्दै तालिममा निरन्तर सहभागिता जनाउन सहभागीलाई प्रेरित गरिन्। तालिम जेठ ७ गतेदेखि सुरु भई सफलतापूर्वक सम्पन्न गरिएको हो।
१० जेष्ठ २०८२, शुक्रबार १७:४२