/*php the_title();*/?>
टीका सुवेदी , सिन्धुपाल्चोक –
मेलम्ची नगरपालिकाले डेङ्गु तथा अन्य किटजन्य रोग नियन्त्रणका लागि विशेष अभियानको थालनी गरेको छ। नगरपालिकाको सभा हलमा आयोजित सरोकारवाला अभिमुखिकरण कार्यक्रममा नगर प्रमुख आइतमान तामाङ र उपप्रमुख उमा प्रधानले समुदायस्तरमै लार्भा खोजी गरी नष्ट गर्न सबैको सक्रिय सहभागिता आवश्यक रहेको बताए।

प्रमुख तामाङले रोगको उपचारभन्दा रोकथाममा जोड दिँदै विगत वर्षको अनुभवका आधारमा सबै निकाय मिलेर समयमै रोगको स्रोत नियन्त्रण गर्नुपर्ने धारणा राखे। उपप्रमुख प्रधानले सचेतना, सरसफाइ र समन्वय अत्यावश्यक रहेको बताउँदै रोग लाग्न नदिन समुदायसम्म पुगेर काम गर्नुपर्नेमा जोड दिइन्।

कार्यक्रममा विद्यालय, महिला स्वयंसेविका, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूले लार्भा बस्न सक्ने स्थान पहिचान गर्ने व्यवहारिक अभ्याससमेत गरेका थिए।
स्वास्थ्य शाखाका प्रमुख ज्ञानेन्द्र सिग्देलले अभियानलाई निरन्तरता दिइने बताउँदै सबै वडामा सरसफाइ, लार्भा नष्ट र जनचेतना कार्यक्रम सञ्चालन गरिने जानकारी दिए।
९ जेष्ठ २०८२, बिहीबार १५:२४