मेलम्चीको गुफाडाँडामा होमस्टे सञ्चालन, पर्यटन प्रवर्द्धनमा नयाँ आशा

जनतापत्र, मेलम्ची सिन्धुपाल्चोक ।
मेलम्ची नगरपालिका–९ अन्तर्गतको पर्यटकीय सम्भावना बोकेको गुफाडाँडामा होमस्टे सञ्चालनमा आएको छ। नगर प्रमुख आइतमान तामाङले शुक्रबार एक विशेष समारोहका बीच उक्त होमस्टेको उद्घाटन गर्नुभयो। कार्यक्रममा उपप्रमुख उमा प्रधान, वडाध्यक्ष किरणदिप खड्का लगायत स्थानीय जनप्रतिनिधिहरूको उपस्थिति थियो। पर्यटकहरूको आवागमन बढ्दो क्रममा भए पनि खानपान र बसोबासको सुविधा नहुँदा समस्या हुने गरेको भन्दै होमस्टे सञ्चालनमा ल्याइएको सञ्चालक निनामाया मोक्तानले जानकारी दिनुभयो। उहाँका अनुसार मेलम्ची नगरपालिकासँगको सहकार्यमा बनेको यो होमस्टेले आगन्तुकलाई कम्तीमा एक दिन गुफाडाँडाको प्राकृतिक सौन्दर्य, वातावरण र आतिथ्य अनुभव गर्ने अवसर दिनेछ।
“हाम्रो उद्देश्य केवल गुफाडाँडामै सीमित छैन, आसपासका क्षेत्रलाई समेत पर्यटनको नक्सामा ल्याउनु हो,” सञ्चालक मोक्तानले बताउनुभयो। उहाँले स्थानीय उत्पादन, सांस्कृतिक अनुभव र समुदायको आतिथ्य मार्फत पर्यटकलाई आकर्षित गर्ने योजनाबारे पनि जानकारी दिनुभयो। समुदाय–आधारित यो होमस्टे सञ्चालनसँगै गुफाडाँडा आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्ने नयाँ गन्तव्यका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ। स्थानीयवासीले यसलाई आर्थिक अवसरसँगै आफ्नो संस्कृतिको संरक्षण र पहिचान प्रवर्द्धनको माध्यमका रूपमा समेत लिन सकिने विश्वास व्यक्त गरेका छन्।

३ आश्विन २०८२, शुक्रबार १५:३६