/*php the_title();*/?>
जनतापत्र, काठमाडौं।
नेपालका प्रमुख वामपन्थी राजनीतिक दलहरूले फेरि एकताका लागि नयाँ प्रयास थालेका छन्। शनिबार नेकपा ९माओवादी केन्द्र०को केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको संयुक्त छलफलपछि आठ वटा वामपन्थी दलहरूले एकता गर्ने सहमति जनाएका छन्।

सहमतिपत्रमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनसमाजवादी पार्टी नेपालका अध्यक्ष सुवासराज काफ्ले, नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादव, नेकपाका महासचिव चिरन पुन, नेकपा समाजवादीका अध्यक्ष राजु कार्की, नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी, र नेकपा साम्यवादीका अध्यक्ष प्रेमबहादुर सिंहको हस्ताक्षर गरिएको छ।
बैठकमा सहभागी नेताहरूले वामपन्थी आन्दोलनलाई सुदृढ बनाउन, राजनीतिक स्थायित्व कायम गर्न र राष्ट्रिय हितका मुद्दामा साझा धारणा बनाउन एकता अपरिहार्य भएको निष्कर्ष निकालेका छन्।
यसअघि नेकपा एकीकृत समाजवादीको केन्द्रीय समितिले माओवादी केन्द्रसहितका दलहरूसँग एकता प्रक्रियामा अघि बढ्ने निर्णय गरेको थियो। त्यसको भोलिपल्ट माओवादी केन्द्रले पनि सो निर्णयलाई अनुमोदन गर्दै एकता पहललाई औपचारिक बनाएको हो।
संयुक्त वक्तव्यअनुसार, अब दलहरूले एकीकरणका लागि कार्यदल गठन गरी संगठनात्मक एकताको प्रक्रिया अघि बढाउने तयारी गरेका छन्। वामपन्थी शक्तिहरूबीचको यो सहमति निकट भविष्यमा ठूलो वाम गठबन्धनको प्रारम्भिक चरणको रूपमा हेरिएको छ।

१७ कार्तिक २०८२, आईतवार १९:२१