महुली लघुवित्तको १३औं स्थापना दिवसमा वृक्षारोपण, सांगीतिक कार्यक्रम र सम्मान

आइसिँ तामाङ, सिन्धुपाल्चोक ।महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको १३औं स्थापना दिवसको अवसरमा शाखा कार्यालय तालामाराङले हेलम्बु गाउँपालिका–३ स्थित श्री जयबागेश्वरी माध्यमिक विद्यालयमा सामाजिक उत्तरदायित्व अन्तर्गत वृक्षारोपण, सांगीतिक प्रस्तुति तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रमअन्तर्गत विद्यालय प्राङ्गणमा वृक्षारोपण गर्नका लागि केही बिरुवा विद्यालय व्यवस्थापन समिति अध्यक्ष गाईनी तामाङलाई हस्तान्तरण गरिएको थियो। 
शाखा प्रमुख सुशील कुमार चौधरीले प्रत्येक वर्ष जेठ ३० गते संस्थाको स्थापना दिवसको अवसरमा वृक्षारोपण कार्यक्रम गरिँदै आएको जानकारी दिनु भएको छ ।
यस वर्ष भने वृक्षारोपणसँगै विद्यालयमा सांगीतिक कार्यक्रम समेत आयोजना गरिएको थियो। कार्यक्रममा सहभागी भएका विद्यार्थीहरूबीच प्रस्तुति प्रतियोगिता गराइएको थियो ।     
साथै, कार्यक्रममा सहभागी २८ जना विद्यार्थीलाई शैक्षिक सामग्री समेत वितरण गरिएको छ। 
तालामाराङ शाखामा आयोजित स्थापना दिवस समारोहमा स्थानीयको बाक्लो उपस्थिति रहेको थियो। दीप प्रज्वलनसहित सुरु भएको कार्यक्रम संस्थाको सामाजिक प्रतिबद्धता र योगदानलाई उजागर गर्दै समापन गरिएको थियो।

३१ जेष्ठ २०८२, शुक्रबार १८:२८