प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश पाण्डे घरमा ‘ढुङ्गा’ प्रहार


जनतापत्र, काठमाण्डौं ।
प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश पाण्डेको लमजुङ जिल्लास्थित सदरमुकाम बेसीशहरस्थित घरमा गएराति करिब १२ बजे अज्ञात समूहबाट ‘ढुङ्गा’ प्रहार गरिएको छ। उक्त घटनाप्रति प्रेस चौतारी नेपालले गम्भीर ध्यानाकर्षण जनाउँदै तत्काल दोषीलाई पक्राउ गर्न माग गरेको छ ।

प्राप्त विवरणअनुसार, ढुङ्गा प्रहारपछि अध्यक्ष पाण्डेको घरका सिसा फुटेका छन् । त्यस्तै, घटनाको समयमा घरभित्र अध्यक्ष पाण्डेकी आमा र हजुरआमा रहेका थिए । घटनामा मानवीय क्षति नभए पनि ठूलो आर्थिक नोक्सानी भएको प्रेस चौतारीले जनाएको छ ।

प्रेस चौतारी नेपालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “पत्रकारिताको अभिव्यक्ति स्वतन्त्रताको पक्षधर संस्था प्रेस चौतारी नेपालका अध्यक्षको घरमा भएको यस्तो आक्रमण योजनाबद्ध र लक्षित देखिन्छ।” विज्ञप्तिमा यस घटनालाई प्रेस स्वतन्त्रता, श्रमजीवी पत्रकार र संस्थागत अखण्डतामाथिको प्रहारको रूपमा लिइएको छ।
संगठनले यो घटनामा संलग्न व्यक्तिहरूलाई छिटो पहिचान गरी कानुनी कठघरामा उभ्याउन र अध्यक्ष पाण्डे तथा उनको परिवारको सुरक्षा सुनिश्चित गर्न सरकार र प्रशासनसँग माग गरेको छ ।
महासचिव हिरामान लामाले हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “अध्यक्षलाई डर देखाएर प्रेस चौतारीको कलम बन्द गराउने प्रयास कहिल्यै सफल हुन सक्दैन। प्रेस चौतारी यो घटनाको निन्दा गर्दै निष्पक्ष छानबिन र दोषीमाथि कडा कानुनी कारबाहीको माग गर्दछ।”
प्रेस चौतारी नेपालले आफ्ना सबै तहका संगठनहरूलाई संयमित रहँदै प्रेस स्वतन्त्रताको रक्षा गर्न निरन्तर सचेत र एकताबद्ध रहन पनि आह्वान गरेको छ ।

१५ कार्तिक २०८२, शुक्रबार १२:३२