
जनतापत्र, सिन्धुपाल्चोक ।
नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाको आग्रहमा निर्वाचन आयोगले जिल्ला सदरमुकाम चौतारामा मिडिया हाउस स्थापना गरेको छ । आसन्न प्रतिनिधि सभा निर्वाचन २०८२ को सहज रिपोर्टिङका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले माघ १४ गते मिडिया हाउस सञ्चालनमा ल्याएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयसँगै रहेको मिडिया हाउसमा करिब ३० जना सञ्चारकर्मी एकैसाथ बसेर काम गर्न सक्ने व्यवस्था गरिएको छ ।

मिडिया हाउसमा इन्टरनेट, टेबुल र कुर्सीको सुविधा उपलब्ध छ । निर्वाचन कार्यालय नजिकै बसेर काम गर्दा सही र आधिकारिक सूचना प्रवाह गर्न सहज हुने निर्वाचन क्षेत्र नं। १ का सहायक मतदान अधिकृत हेमा पाण्डेले बताउनुभयो । मतदानको दिनदेखि मतगणना सम्पन्न नभएसम्मको रिपोर्टिङमा मिडिया हाउस उपयोगी हुने विश्वास महासंघ जिल्ला शाखाका अध्यक्ष ध्रुव दङ्गालले व्यक्त गर्नुभयो । मिडिया हाउस स्थापनाका लागि महासंघले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई धन्यवाद ज्ञापन गरेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय हाल जिल्ला समन्वय समितिको भवनमा रहेको छ ।
१५ माघ २०८२, बुधबार २१:१०