पेट्रो लियम पदार्थको अन्वेषण गर्न ल्याइएको समाग्री भन्सारमै अडकियो

नेपालगञ्ज । पेट्रोलियम पदार्थको खोज अनुसन्धानको लागि चीनबाट ल्याइएका उपकरण पाँच दिनदेखि नेपालगन्जस्थित रुपैडिहा भन्सार नाकामा थन्किएका छन् । भन्सार छुट कागजात समयमै उपलब्ध हुन नसक्दा ती उपकरणहरू थन्किएका हुन् ।

चीन सरकारको सहयोगमा पेट्रोलियम पदार्थको अन्वेषण गर्न चिनियाँ विज्ञ टोली चार महिनादेखि दैलेखको भैरवी गाउँपालिकामा छ । जमिनमुनि करिब चार किलोमिटर ड्रिलिङ गरेर पेट्रोलियम पदार्थको परिमाण पत्ता लगाउन ती सामग्री ल्याइएको हो ।

अहिले भन्सारमा १० वटा ट्रक कागजातको अभावमा थन्किएका हुन् । यस्तै, कागजातकै कारण बाँकी १९० ट्रक भारतको कोलकातामा रोकिएका छन् । अन्वेषणका सामग्री भन्सार छुटका लागि चाइना जिओलोजिकल सर्भेका नाममा रहेकोमा भूगर्भ विभागको नाम हुनुपर्ने भन्दै अर्थ मन्त्रालयमा फाइल अड्किएको हो ।

मन्त्रालयले भन्सार छुटको कागजात नपठाउँदासम्म ती सामग्री भन्सारमै थन्किने अवस्थामा छन् । सन् २०२२ सम्ममा सक्ने सम्झौता भएको आयोजना ड्रिलिङ प्रक्रियाकै कारण रोकिएको छ ।

२७ फाल्गुन २०८०, आईतवार ०२:४४