
जनतापत्र,सिन्धुपाल्चोक ।
पाँचपोखरी थाङपाल गाउँपालिकाको आयोजनामा तथा कोलिशन फर रिसर्च ट्रेनिङ एण्ड डेभलपमेन्टको प्राविधिक सहयोगमा शिक्षक लक्षित तालिम कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिकाभित्रका विभिन्न विद्यालयका शिक्षकहरूको उल्लेखनीय सहभागिता रहेको उक्त तालिममा वरिष्ठ मनोविद् राजन अधिकारीले सहजीकरण गर्नुभएको थियो।

उहाँले शिक्षकहरूलाई व्यवहारिक सीप विकास, मनोसामाजिक पक्षको बुझाइ तथा शिक्षण विधिलाई प्रभावकारी बनाउने उपायहरूबारे प्रशिक्षण प्रदान गर्नुभयो। तालिममा सहभागी निर्मला धितालले कार्यक्रम अत्यन्त उपयोगी र फलदायी रहेको प्रतिक्रिया दिनुभयो। उहाँका अनुसार तालिमले शिक्षण कार्यलाई अझ प्रभावकारी बनाउन आवश्यक ज्ञान र सीप प्रदान गरेको छ। कार्यक्रमको समापन गर्दै गाउँपालिकाका अध्यक्ष टासी लामाले सहभागी शिक्षकहरूलाई प्रमाणपत्र वितरण गर्नुभयो। उहाँले यस्ता तालिमले शिक्षकहरूको क्षमता अभिवृद्धिमा महत्त्वपूर्ण योगदान पुर्याउने उल्लेख गर्दै सिकेका ज्ञान र सीपलाई व्यवहारमा उतारेर विद्यालयको शैक्षिक गुणस्तर सुधारमा सक्रिय भूमिका खेल्न आग्रह गर्नुभयो। कार्यक्रममा शिक्षकहरू, सरोकारवाला निकायका प्रतिनिधि तथा गाउँपालिकाका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
१३ चैत्र २०८२, शुक्रबार ०९:३५