पर्यटन क्षेत्रमा उत्साह, फेब्रुअरीमा भित्रिए ९७ हजार पर्यटक

काठमाडौं । सन् २०२४ सुरु भए यता नेपालको पर्यटन क्षेत्रमा उत्साह देखिएको छ । यो बर्षको पहिलो महिना अर्थात जनावरीमा ७९ हजार एक सय पर्यटक हवाई मार्गबाट नेपाल भित्रिएकोमा दोस्रो महिना अर्थात फेब्रुअरीमा ९७ हजार ४ सय २६ विदेशी पर्यटक नेपाल भित्रिएका छन्।

सन् २०२३ को फेब्रुअरीमा ७३ हजार २ सय ५५ पर्यटक नेपाल भ्रमणमा आएका थिए। गतवर्ष भन्दा यो वर्षको फेब्रुअरीमा ३३ प्रतिशतले पर्यटक आगमन वृद्धि भएको छ।

फेब्रुअरीमा सबै भन्दाबढी भारतबाट २५ हजार ५ सय ७८ पर्यटक नेपाल भित्रिएका छन्। जुन गतवर्ष भन्दा ३३ प्रतिशतले बढेको छ। गतवर्षको फेब्रुअरीमा १८ हजार ४ सय १ भारतीयले नेपाल भ्रमण गरेका थिए। त्यस्तै दोस्रोमा चिनबाट ९ हजार १ सय ८० जनाले नेपाल भ्रमण गरेका छन्। त्यस्तै अमेरिकाबाट ९ हजार ८९ पर्यटकले फेब्रुअरीमा नेपाल भ्रमण गरेका छन्।

सन् २०१९ देखि लगातार संकटमा रहेको पर्यटन क्षेत्र गतवर्ष २०२३ देखि भने क्रमिक सुधार हुँदै आएको छ। सन् २०२३ मा १० लाख विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए। सन् २०२४ को सुरुवातमै आगमनदरमा वृद्धि देखिनुले अझ सकारात्मक हुने देखिएको छ।

१८ फाल्गुन २०८०, शुक्रबार १५:३०