/*php the_title();*/?>
जनतापत्र, चौतारा ।
नदिजन्य पदार्थ उत्खननको लागि आर्थिक वर्षको सुरुमा नै जिल्लाका केहि स्थानिय सरकारहरुले सुचना प्रकाशित गरेका थिए । तर, अहिले सम्म कुनैपनि कम्पनीले निवेदन दिन भने आएका छैनन् ।
जसमा चौतारा साँगाचोकगढी नगरपालिका र इन्द्रावती गाउँपालिका रहेका छन् । यी दुइ पालिकाले पटकपटक ठेक्का आह्वान गरिरहेका छन् । भने हाल सम्म कुनै पनि निवेदनहरु नआएका हुन् ।
गत वर्षहरु भन्दा यसपाली विकास निर्माण र भौतिक संरचनाको काम घट्दा गिट्टी बालुवा प्रयोगमा कमी आएको देखिएको छ ।
राज्यसँग रकम नभएको क्रसर व्यवसायी इन्द्र गिरीले बताउनुभएको छ ।
निर्माणकार्य कम भएपछि नदीजन्य पदार्थको उपयोग पनि कम नै भइरहेको उहाँको भनाइ रहेको छ ।
हरेक वर्ष चौतारा साँगाचोकगढी नगरपालिकाले नदीजन्य पदार्थ उत्खनन गरेको करबाट २५ करोड राजस्व संकलन गर्दै आइरहेको थियो । गत बर्षहरुमा पनि १८ करोडमा ठेक्का सम्झौता गरेको थियो ।
क्रसर व्यवसायी गिरीले पाँच करोड घाटा व्यहोरेको भन्दै यो वर्ष ठेक्का हाल्न नआउनुभएको हो । उहाँले सात करोडसम्म पाए ठेक्का सम्झौता गर्ने भनेपछि अहिले नगरका कर्मचारी आफैंले राजस्व संकलन गरिरहेका छन् ।
नगरपालिकामा कार्यरत इन्जिनियर विकास श्रेष्ठले भने, धेरै रकम घटाउन नियमले मिल्दैन । मिलेसम्म रकम मिलान गरेर ठेक्का खोल्दा कोही आएका छैनन् । कर्मचारीले उठाउँदा राजस्व हिनामिना हुने डर हुन्छ ।
इन्द्रावती गाउँपालिकाले जुनसुकै वर्ष पनि १५ करोडभन्दा माथि राजस्व उठाइरहेको थियो । गत वर्ष १४ करोड संकलन भएको हुँदा यो वर्ष भने १० करोडमा टेन्डर आह्वान गर्दा पनि निवेदन हाल्न कोही नआएका हुन् ।
११ कार्तिक २०८१, आईतवार १३:०१