/*php the_title();*/?>

जनतापत्र,काठमाडौं ।
नेपालले ऊर्जा निर्यात विस्तारतर्फको अर्को महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। भारतको हरियाणा राज्यलाई २०० मेगावाट विद्युत् बिक्री गर्ने विषयमा नेपाल र भारत सरकारबीच सहमति भएको हो। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काका अनुसार भारत सरकारको स्वीकृति पाएसँगै अब नेपालबाट निर्यात हुने कुल विद्युत् क्षमता १,१४०।७ मेगावाट पुगेको छ।
यस सम्झौताअनुसार हरियाणाले मात्र ४३५।२ मेगावाट बिजुली पाउनेछ। नेपाल विद्युत् प्राधिकरणका अनुसार यो आपूर्ति देशका विभिन्न ३४ जलविद्युत् आयोजना मार्फत हुने छ। प्राधिकरणले यो कदमलाई नेपालको ऊर्जा निर्यात इतिहासमा महत्वपूर्ण माइलस्टोनको रूपमा लिएको छ, जसले राष्ट्रिय आम्दानी वृद्धिसँगै दिगो ऊर्जा विकासमा उल्लेखनीय योगदान पुर्याउने अपेक्षा गरिएको छ।
गत आर्थिक वर्ष २०८१र८२ मा नेपालले बंगलादेशलाई पहिलो पटक दैनिक ४० मेगावाट र भारतलाई करिब ८ सय मेगावाट विद्युत् निर्यात गरेको थियो। सो अवधिमा नेपालले विद्युत् बिक्रीबाट करिब साढे १७ अर्ब रुपैयाँ आम्दानी गर्न सफल भएको थियो। विद्युत् व्यापारमा मात्र करिब साढे ४ अर्ब रुपैयाँ नाफा भएको प्राधिकरणले जनाएको छ।
त्यस वर्ष नेपालले १७ अर्ब ४६ करोड रुपैयाँको बिजुली निर्यात गर्दा करिब १२ अर्ब ९२ करोड रुपैयाँ बराबरको विद्युत् आयात गरेको थियो। यस आधारमा आयातको परिमाण घट्दै गएको देखिन्छ। नेपालले भारतबाट खरिद गरेको बिजुलीभन्दा करिब ४ अर्ब ५४ करोड रुपैयाँ बराबर बढी विद्युत् निर्यात गर्न सफल भएको हो।
ऊर्जा मन्त्रालयका अनुसार निर्यात विस्तार रणनीतामा सरकारले पछिल्ला वर्षहरूमा उल्लेखनीय सफलता पाएको छ। स्वदेशमा जलविद्युत् उत्पादन क्रमशः बढ्दै गएकाले आगामी वर्षहरूमा विद्युत् निर्यातको परिमाण अझ वृद्धि हुने विश्वास लिइएको छ। यसले दीर्घकालीन रूपमा नेपालको व्यापार घाटा घटाउन र ऊर्जा क्षेत्रलाई आर्थिक वृद्धिको आधारस्तम्भ बनाउन मद्दत पुर्याउने अपेक्षा गरिएको छ।
२९ श्रावण २०८२, बुधबार ११:१६