नेकपा एमाले इन्द्रावतीको विस्तारित बैठक सम्पन्न

शेर बहादुर तामाङको प्रमुख आतिथ्य, भ्रष्टाचार विरुद्ध निरन्तर आवाज उठाउने प्रतिबद्धता

जनतापत्र, सिन्धुपाल्चोक– नेकपा एमाले इन्द्रावती गाउँपालिका कमिटीको विस्तारित बैठक नेकपा एमाले स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री शेर बहादुर तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ। बैठकको अध्यक्षता पालिका कमिटी अध्यक्ष डबले लामाले गरेका थिए।

कार्यक्रममा प्रदेश कमिटी सदस्य झम्क नेपाल, जिल्ला अध्यक्ष होमनारायण श्रेष्ठ, सचिव कृष्ण गोपाल तामाङ, उप–सचिव शिवहरि सापकोटा लगायत जिल्ला कमिटीका सदस्यहरू, वडा कमिटी अध्यक्षहरू र अन्य पार्टी कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

बैठकमा हालैको जेनेरेसन जस्टिस (जेन्जी) आन्दोलनमा दिवंगत भएकाहरूप्रति श्रद्धाञ्जलि अर्पण गरिएको थियो भने घाइते युवाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको थियो। साथै, आत्मआलोचना सहित संगठन सुदृढीकरण र राजनीतिक आन्दोलनमा थप सक्रियता ल्याउने विषयमा छलफल गरिएको थियो।

पार्टी अध्यक्ष डबले लामाले दशैं–तिहारको अवसरमा सबै वडा कमिटीमा शुभकामना आदान–प्रदान कार्यक्रम तथा चोक–चोकमा दीप प्रज्वलनको आयोजना गरिने जानकारी दिए।

बैठकमा बोल्दै प्रमुख अतिथि शेर बहादुर तामाङले भने, “जेन्जी आन्दोलनले उठाएका मुद्दा म मन्त्री हुँदा पनि उठाएका थिएँ। तर म एक्लो परें र अन्ततः राजीनामा दिनु पर्यो। अहिले जेन्जीले उठाएको भ्रष्टाचारविरोधी मुद्दा एमालेको पनि प्रमुख मुद्दा हो। हामीले विगतमा उठाएका थियौं, अहिले पनि निरन्तर उठाइरहनेछौं।”

बैठकले पार्टी संगठनलाई अझ सुदृढ बनाउने, जनसमस्या उठाउने र संविधान र जनताको अधिकारको रक्षाका लागि सक्रिय भूमिका खेल्ने निर्णयसमेत गरेको जिल्ला सचिव कृष्ण गोपाल तामाङले जानकारी दिएका छन्।

२ आश्विन २०८२, बिहीबार १६:१७