नागरिक समाज सिन्धुपाल्चोकको अपील – आन्दोलनमा शान्तिपूर्ण समाधान खोज्न आग्रह

जनतापत्र, सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोकका विभिन्न क्षेत्रका नागरिक समाजका प्रतिनिधिहरूले हालै देशभर तीव्र बनेको जेन–जि पुस्ताको आन्दोलन र त्यस पछिका घटनाक्रम प्रति चासो व्यक्त गर्दै शान्तिपूर्ण समाधान खोज्न सरोकारहरुलाई अपील गरेका छन्।

शुक्रबार सार्वजनिक अपीलपत्रमार्फत उनीहरूले आन्दोलनका क्रममा जनहानि, घाइते तथा सम्पत्तिमा पुगेको क्षतिप्रति दुःख प्रकट गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ।

अपीलमा आन्दोलन नियन्त्रणका क्रममा भएको अत्यधिक बल प्रयोग, सार्वजनिक तथा ऐतिहासिक सम्पदा, निजी तथा व्यावसायिक प्रतिष्ठान, सरकारी कार्यालयमा भएको क्षति प्रति गम्भीर ध्यानाकर्षण गरिएको छ। हिंसात्मक घटनाले दीर्घकालीन असर पार्ने भएकाले छानबिन आयोगमार्फत सत्यतथ्य खुलाउने र दोषीलाई कानूनी दायरामा ल्याउन माग गरिएको छ।

नागरिक समाजले लोकतान्त्रिक आन्दोलनलाई हिंसाबाट होइन, संवाद र सहकार्यबाट समाधान गर्नुपर्नेमा जोड दिएको छ। अपीलमा भनिएको छ, “नेपालको जनआन्दोलन र बलिदानीपूर्ण संघर्षबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै राजनीतिक स्थायित्व कायम गर्न सबै सरोकारवालाले जिम्मेवारीपूर्वक कदम चाल्न आवश्यक छ।”

अपीलपत्रमा नेपाल बार एशोसिएसन बार इकाई सिन्धुपाल्चोकका अध्यक्ष भूपेन्द्र बहादुर तामाङ, नेपाल पत्रकार महासंघ जिल्ला शाखाका सचिव टिका सुवेदी, गैरसरकारी संस्था महासंघका अध्यक्ष भवानी श्रेष्ठ, इन्सेक प्रतिनिधि नातिवावु धिताल, सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष जनकराज गिरी, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघकी अध्यक्ष रीना श्रेष्ठ र नेपाल घरेलु तथा साना उद्योग महासंघका महासचिव हरिकुमार श्रेष्ठलगायतले हस्ताक्षर गरेका छन्।

२७ भाद्र २०८२, शुक्रबार १०:१८