/*php the_title();*/?>
जनतापत्र, काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डको लामो समयदेखि रोकिएको स्तरोन्नति काम अगाडि बढाउन पुनः प्रक्रिया सुरू गरिएको छ। विस्तार कार्यका लागि नयाँ निर्माण कम्पनीसँग हालै मात्र सम्झौता सम्पन्न भएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ।
कार्यालयका अनुसार भ्याटबाहेक ३१ करोड ५६ लाख रुपैयाँमा १४ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी नयाँ ठेक्का सम्झौता गरिएको हो। कार्यालय प्रमुख सीनियर डिभिजनल इन्जिनियर सुमन योगेशका अनुसार पहिलो चरणमा फराकिलो स्थानमा आगामी चैतसम्म कालोपत्रे गर्ने लक्ष्य राखिएको छ भने बाँकी काम क्रमशः सम्पन्न गरिनेछ। निर्माणमा निरन्तर ढिलाइ हुँदै आएका कारण विगत तीन वर्षदेखि यात्रुहरूले यो सडकमा अत्यधिक सास्ती भोग्दै आएका छन्। चालु आर्थिक वर्षको सुरुआतसँगै कार्यालयले पुनः विस्तारका लागि बोलपत्र आह्वान गरेको थियो। पुरानो ठेक्का रद्द भएको साढे चार महिनापछि कार्यालयले साउनमा नयाँ बोलपत्र खोलेको हो। चार किलोमिटर लम्बाइको उक्त सडक नयाँ निर्माण कम्पनीले तोकिएको समयमा सक्ने विश्वास कार्यालयले गरेको छ।
यसअघि निर्माण कार्य समयमा सम्पन्न नभएको भन्दै कार्यालयले गौरी–पार्वती निर्माण सेवासँगको ठेक्का रद्द गरेपछि कम्पनीले उच्च अदालत पाटनमा मुद्दा दायर गरेको थियो। गत असार २५ गते अदालतले मुद्दा खारेज गरेपछि पुनः ठेक्का प्रक्रिया अघि बढाइएको कार्यालयले जनाएको छ। कम्पनीले त्यसबेला लेखित स्पष्टीकरण बुझाए पनि पर्याप्त विश्वासिलो नदेखिएको कार्यालयको भनाइ छ। अरनिको राजमार्ग हुँदै सिन्धुपाल्चोकको तातोपानी नाका तथा दोलखा, रामेछाप लगायतका जिल्लातर्फ जाने मुख्य मार्ग भएकाले निर्माण ढिलाइले यात्रुलाई धुलो, हिलो, भिडभाड र दुर्घटनाको जोखिमका बीच यात्रा गर्न बाध्य बनाएको छ। २०७९ जेठ २० मा २२ महिनाभित्र काम सक्ने गरी उक्त सडक विस्तारको ठेक्का दिइएको थियो। तर हालसम्म धुलिखेल बसपार्कदेखि जिपलाइनसम्म डाँडा कटिङ र केही स्थानमा नाली तथा ड्रेन–वालको काम मात्रै भएको थियो। जिपलाइनदेखि खावासम्मका केही भाग भत्काइए पनि एक किलोमिटर क्षेत्रको कटिङ समेत बाँकी रहेको कार्यालयले जनाएको छ।
गत जेठमा बेस र सब–बेस हाल्ने काम सुरु गरिएको भए पनि लगातारको वर्षाले सबै काम बगाएर सडक पुनः जीर्ण बनेको थियो। झन्डै चार वर्षसम्म काम नबन्दा वर्षायाममा समेत यात्रुहरूले निकै कठिनाइ भोग्नु परेको थियो। समयसीमा सकिएको ११ महिना बितिसक्दा पनि ठेकेदारले जम्मा २५ प्रतिशत मात्र काम गरेका थिए, जसपछि कार्यालयले गत फागुन १५ गते ठेक्का रद्द गरेको हो। यसबीच, नयाँ ठेक्का प्रक्रिया पूरा हुन लागेकाले सवारीसाधन आवतजावत सहज होस् भन्ने उद्देश्यले सडकका खाल्डाखुल्डी भरिने काम निरन्तर भइरहेको कार्यालयले जनाएको छ। “मंसिरदेखि नयाँ ठेक्का लागू हुने भएकाले अहिले अस्थायी रूपमा खाल्डाखुल्डी मर्मत गर्दै आएका छौँ,” इन्जिनियर योगेशले बताए। धुलिखेल–खावा सडक खण्डलाई १२ मिटर चौडा बनाइ कालोपत्रे गर्ने योजना रहेको छ। मालवाहक सवारीको भारवहन क्षमता ध्यानमा राखी नेपालमै पहिलो पटक ग्राभेलमाथि २० सेन्टिमिटर बाक्लो सिमेन्ट मिसाइएको बेस राख्ने तथा डिबिएम र एस्फाल्ट गरी दुई चरणमा कालोपत्रे गर्ने तयारी गरिएको कार्यालयले जानकारी दिएको छ।
४ मंसिर २०८२, बुधबार १७:२०