तिब्बतमा भूकम्पमा परि ९५ जनाको मृत्यु


जनतापत्र, चौतारा ।

तिब्बतमा भूकम्पमा परि ९५ जनाको ज्यान गएको छ ।
तिब्बतको सिगात्से सहरमा आज बिहान नेपाली समयअनुसार ६ बजेर ५१ मिनेटमा भुकम्प गएको थियो । भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ९५ पुगेको छ भने १३० जना घाइते भएका छन् । चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाले दिएको जानकारी अनुसार मङ्गलबार बिहान गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ९५ पुगेको हो ।

नेपालको उत्तरपूर्वी सीमा नजिकै चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्गयी काउन्टी केन्द्र भएर भूकम्प गएको हो ।

६.८ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापनसम्बन्धी चीनको आधिकारिक निकाय चाइना अर्थक्वेक नेटवक्र्स सेन्टरले जनाएको छ । भूकम्पको उद्गम बिन्दु(गहिराइ) १० किलोमिटर छ ।
यूएस जियोलोजिकल सर्भेले भने भूकम्पको मापन ७.१
म्याग्निच्युड रहेको जनाएको छ भने नेपालको राष्ट्रिय भूकम्प मापन केन्द्रले ७.० म्याग्निच्युडको भूकम्प गएको जनाएको छ । भूकम्पको धक्का नेपालका विभिन्न जिल्लासँगै भुटानको थिम्पु, भारतको बिहार र बङ्गलादेशसम्म महसुस गरिएको छ ।

२३ पुष २०८१, मंगलवार १०:४८