
जनतापत्र, सिन्धुपाल्चोक — नेपाल–चीन व्यापारका लागि महत्वपूर्ण गणिने तातोपानी भन्सारसम्म पुग्ने बाह्रबिसे–लिपिङ सडक अब स्तरोन्नतिको साथ कालोपत्रे बन्ने भएको छ। वार्षिक अर्बौँ रुपैयाँ राजस्व सङ्कलन हुने यो व्यापारिक मार्ग सुधारका लागि डिभिजन सडक कार्यालय चरिकोटले चालु आर्थिक वर्षमै ठेक्का सम्झौता गर्ने तयारी अघि बढाएको हो। डिभिजन सडक कार्यालयका अनुसार सडक स्तरोन्नतिको लागि ३ अर्ब रुपैयाँ बजेट माग गरिएको थियो, जसअन्तर्गत अर्थ मन्त्रालयले २ अर्ब रुपैयाँ विनियोजन गरेको थियो। तर ठेक्का प्रक्रियामा प्रतिस्पर्धी निर्माण कम्पनीले १ अर्ब ३४ करोड १० लाख ४७ हजार १७७ रुपैयाँमा काम सम्पन्न गर्ने प्रस्ताव दिएपछि सोही लागतलाई आधार मानेर सम्झौता अघि बढाइएको प्रमुख नारायणदत्त भण्डारीले बताए।
जनप्रतिनिधिको पहिलो प्राथमिकता
सिन्धुपाल्चोक क्षेत्र नं. १ का निर्वतमान सांसद माधव सापकोटाका अनुसार तातोपानी नाका पुग्ने सडक सुधार आफ्नो पहिलो प्राथमिकता थियो। लामो समयदेखि जीर्ण अवस्थामा रहेको र नेपालको प्रमुख व्यापारिक ढोका भएकै कारण सडक सुधार अत्यावश्यक रहेको उनले बताए। सापकोटाले भने, “बजेट विनियोजनका क्रममा ‘३ अर्ब’ भनेर धेरैले व्यङ्ग्य गरे, तर आज सडक निर्माण ठोस रूपमा अघि बढेको छ। जनतासँग गरेको पहिलो प्रतिबद्धता पूरा हुँदैछ।” उनका अनुसार तातोपानी नाका सम्बन्धी धेरै नेताले वर्षौँ आश्वासन मात्र दिएका भए पनि अब व्यवहारिक काम सुरु भएकाले सबै पक्षले सहयोग र निरन्तर दबाब दिनुपर्ने आवश्यकता छ।
२८ किलोमिटर सडक—दुई लेनको आधुनिक कालोपत्रे
डिभिजन सडक कार्यालयका प्रमुख भण्डारीका अनुसार बाह्रबिसे–लिपिङ २८ किलोमिटर लामो सडक दुई लेनको कालोपत्रे हुनेछ। ठेक्का प्रक्रिया आठ महिना अघि सुरु भए पनि विभिन्न कारणले ढिलाइ भएको र अहिले सम्झौता अन्तिम चरणमा पुगेको उनले बताए। प्राथमिकताका रूपमा नाली निर्माण, नदी कटान भएको स्थानमा प्रोटेक्सन वाल, र अन्य आधारभूत संरचना तयार गरिनेछ। त्यसपछि डीबीउम प्रविधिबाट गुणस्तरीय अस्फाल्ट पिच गरिने भण्डारीको भनाइ छ। डाक्लाङ, घट्टेखोला र कोदारी आसपास पहिरोले क्षति पुर्याएका खण्ड भने छुट्टै ठेक्कामार्फत निर्माण गरिनेछन्। जोखिमयुक्त भएकाले ती स्थानका लागि प्राविधिक अध्ययन पछि मात्रै स्थायी समाधानका काम अघि बढाइने जनाएको छ।
दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य
ठेक्का सम्झौता सम्पन्न भएपछि निर्माण कम्पनीले दुई वर्षभित्र सबै काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
सडक पूर्ण रूपमा कालोपत्रे भएपछि तातोपानी नाका हुँदै हुने व्यापारिक गतिविधि सहज हुने, ढुवानी खर्च घट्ने तथा स्थानीय अर्थतन्त्रमा प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ।
२ मंसिर २०८२, सोमबार १३:१४