जेन जी युवा विद्रोह र बदलिनु पर्ने शासकीय चरित्र

शशिनाथ आचार्य

युवा शक्तिलाई परिवर्तनको संवाहक र समृद्धिको आधारका रूपमा मानिन्छ। युवाले चाहे जुनसुकै काम गर्न सक्छन् भन्ने मान्यता नेपाललगायत विश्वमा भएका धेरै परिवर्तनकारी घटनाक्रमबाट स्थापित र पुष्टि भएको पाइन्छ। परिवर्तन प्रतिको उत्कट इच्छा र चाहना होस् वा आत्मनिर्भरता र उत्पादनशील कार्यमार्फत समृद्धिको स्तम्भका रूपमा युवाशक्ति अपराजेय शक्ति हो। यस शक्तिको भावना, चाहना र इच्छाशक्तिलाई नबुझी वा यस शक्तिको मनोविज्ञानलाई आत्मसात नगरी अघि बढेका जतिसुकै शक्तिशाली शासक किन नहुन्, अन्ततः सत्ताबाट च्युत हुनुपरेको कुरा विश्वका विभिन्न घटनाक्रमको अध्ययनबाट थाहा पाइन्छ। यीमध्ये नेपालमा गत भदौ २२, २३ र २४ गते भएको युवा विद्रोह र त्यसले ल्याएको परिवर्तन पछिल्लो उदाहरणका रूपमा लिन सकिन्छ।

विश्वमा हालसालै सम्पन्न भएका चर्चित र स्मरणीय युवा विद्रोहलाई फर्केर हेर्दा नेपालमा सम्पन्न जेन जी विद्रोह सबैभन्दा छोटो समयमा सम्पन्न भएर विद्रोहकर्ताले अपेक्षा गरेभन्दा भिन्न परिणाम ल्याउन सफल भएको देखिन्छ। विद्रोह किन र कसरी भन्ने ज्ञान वा स्पष्ट अवधारणा र विद्रोहको नेतृत्वकर्ता को हुन् भन्ने तय नै नभईकनै सुरु भएको आन्दोलनमा दलीय राजनीति र फरक–फरक उद्देश्य तथा स्वार्थप्रेरित समूहको प्रवेश भएकाले, उनीहरूले सोचेभन्दा फरक परिणाम भोग्नुपरेको र उपलब्धीभन्दा बढी मानवीय तथा भौतिक क्षति बेहोर्नुपरेको तीतो यथार्थ जेन जी आन्दोलनले भोग्नुपर्‍यो। तथापि, यसलाई अवसरमा बदल्न सकिए यो विद्रोह मुलुकको विकास, रुपान्तरण, समृद्धि र सुशासनका आधारशिला बन्ने खालको ऐतिहासिक पाटो पनि बन्न सक्छ।

जेन जी विद्रोह के हो?
जनसांख्यिकीय हिसाबले सन् १९८१ देखि १९९७ सम्म जन्मिएका पुस्तालाई मिलेनियल्स (जेन वाई), १९९७ देखि २०१२ सम्मका पुस्तालाई जेन जेड (जेन जी) र २०१२ पछि जन्मिएका पुस्तालाई जेन अल्फा भनिन्छ। जेन जी भन्ने शब्द सन् १९९० पछि समाजशास्त्रीहरूले युवाको सामाजिक, सांस्कृतिक, शारीरिक तथा प्रविधिक परिवर्तनहरूको विश्लेषण गर्न प्रयोग गरे। प्रारम्भमा यो शब्द युरोप, अमेरिका लगायतका पश्चिमी देशहरूमा लोकप्रिय भए पनि पछि विश्वव्यापी भयो।

जेन जी पुस्तालाई डिजिटल नेटिभ पनि भनिन्छ, किनकि उनीहरू जन्मदेखि नै इन्टरनेट, स्मार्टफोन, सामाजिक सञ्जाल र सूचना–प्रविधिको पहुँचमा हुर्केका हुन्छन्। यी साधनहरू जीवनको अभिन्न अंग भइसकेको हुँदा, तिनबिन उनीहरू एकछिन पनि बस्न सक्दैनन्। सूचना–प्रविधिको सहज पहुँचका कारण संसारका हरेक गतिविधिबारे उनीहरू परिचित र जानकार हुन्छन्।

यस उमेर समूहमा शैक्षिक अवसर, गुणात्मक शिक्षा प्राप्तिको चाहना, शारीरिक तथा मानसिक परिवर्तन, पारिवारिक जिम्मेवारीको थालनी, विवाह तथा परिवारको जग बसाल्ने प्रक्रिया, रोजगारीको सुरुआत, सामाजिक मुद्दाप्रति जागरुकता आदिको वृद्धि हुने भएकाले उनीहरू बढी भौतारिने स्वभावका हुन्छन्। समवयका साथीहरूबाट उनीहरू सजिलै प्रभावित हुन्छन् र असमानता महसुस गर्दा असन्तुष्ट हुन्छन्। सहनशक्ति कम हुने भएकाले असन्तुष्टि प्रकट गर्ने वा विद्रोह गर्ने प्रवृत्ति देखिन्छ।

नेपालमा भएको जेन जी विद्रोहले विश्वभर हलचल मात्र पैदा गरेन, विश्व इतिहासमै नयाँ रेकर्ड समेत कायम गर्‍यो। हाल १३ देखि २८ वर्ष उमेर समूहमा पर्ने जेन जी युवाले सुरु गरेको यस आन्दोलनका मुख्य मागहरू भ्रष्टाचार र ढिलासुस्ती अन्त्य, अवसरको समान वितरण, राजनीतिक स्थायित्व र सुशासनतर्फ देशलाई अघि बढाउनु पर्ने थिए।

उनीहरू राजनीतिक दलका नेताहरू र राज्यका पदाधिकारीका छोराछोरीको विलासी जीवनशैली, राज्यका सुविधा केवल त्यही वर्गमा सीमित हुनु, सामान्य नागरिकले सेवा सुविधा नपाउनु आदिबाट आजित भएका थिए। उनीहरूको बुझाइमा त्यो विलासी जीवन गलत कार्य र अनैतिक धन्दाबाट आर्जित सम्पत्तिको परिणाम थियो। त्यसैले उनीहरूले त्यही प्रवृत्तिलाई मुख्य निसाना बनाए।

लामो समयदेखि मनभित्र गुम्सिएको असन्तुष्टिको विस्फोट भदौ १९ गते सरकारले सामाजिक सञ्जाललाई बन्द गर्ने निर्णय गरेपछि भयो। सरकारको भनाइमा यो निर्णय करको दायरामा ल्याई राष्ट्रिय आय बढाउने र सामाजिक अराजकता नियन्त्रण गर्ने उद्देश्यले गरिएको थियो। तर युवाको बुझाइमा, यो राज्यको गलत कार्यलाई ढाकछोप गर्ने, गलत कामलाई थप प्रश्रय दिने र आफ्नो आवाज दबाउने प्रयास थियो। यसले आन्दोलनकारीको क्रोधलाई अझ प्रज्वलित गर्‍यो र देशभर विद्रोह फैलियो।

नेपालभन्दा अघि इन्डोनेसिया, मंगोलिया, सर्बिया, केन्या, बंगलादेश, श्रीलंका लगायतका मुलुकमा पनि जेन जी युवाले विद्रोह गरेका थिए। कतिपय मुलुकमा यसले प्रधानमन्त्री वा राष्ट्रपति सम्मलाई राजीनामा दिन बाध्य बनाएको छ।

यसरी हेर्दा, हालसालैका जेन जी आन्दोलनहरूले युवामा ब्याप्त असन्तोष, असमानता र भ्रष्टाचारप्रति आक्रोश देखाएको छ। नेपालमा पनि अब युवालाई समान अवसर, भ्रष्टाचार नियन्त्रण, राजनीतिक स्थायित्व, सुशासन र विकासप्रतिको चाहनाको सम्बोधन गर्न सकिए मात्र दीर्घकालीन शान्ति सम्भव छ। अन्यथा शासकको पतन अवश्य हुन्छ।

त्यसैले, नेपालका राजनीतिक दलहरूले आफ्नो व्यवहार, चरित्र र शासकीय शैली परिवर्तन गर्नैपर्छ। नेताहरूको जीवनशैली पारदर्शी र सरल हुनुपर्छ। परिवारका सदस्यले अनावश्यक तडकभडक देखाउने, स्रोतविनाका सम्पत्ति बटुल्ने, पर्दामागाडि बसेर कमिसनको कारोबार गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्छ। सरकारी संयन्त्रमार्फत हुने लुटपाटको श्रृंखला रोक्नुपर्छ।

राज्यका सेवा सुविधा सबैले निर्वाध र समानरूपमा पाउने सुनिश्चितता हुनुपर्छ। यदि शासकीय चरित्रमा सुधार नभए मुलुक फेरि संकटमा पर्न सक्ने खतरा छ। अब प्रश्न के हो भने—हामी सकिने कि सच्चिने? निर्णय हामी आफैंले गर्नुपर्छ।

२९ भाद्र २०८२, आईतवार ११:३७