/*php the_title();*/?>
जनतापत्र, मेलम्ची ।
मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङको प्रमुख आतिथ्यतामा जुगल बचत तथा ऋण सहकारी संस्था लि. मेलम्ची ११ सिन्धुपाल्चोकको ३१ औँ बार्षिक साधारणसभा भएको छ । सहकारीका अध्यक्ष निरन श्रेष्ठको अध्यक्षतामा भएको मेलम्ची नगरपालिका उप प्रमुख
उमा प्रधानको बिषेश आतिथ्यता हुँदा कार्यक्रमका संयोजक जनकलाल श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको थियो ।
१६५ जना शेयर सदस्यहरू रहेका संस्थामा महिला ७९ जना र पुरूष ८६ जना रहेका छन ।
कोषाध्यक्ष सुमित्रा देउजाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दा संस्थाको आर्थिक बर्ष २०८०÷०८१ मा जम्मा आम्दानी २२ लाख ५७ हजार ७ सय ५ रूपैयाँ रहेको देउजाले प्रस्तुत गर्नुभयो ।
संस्थाको ऋणमा व्याज आम्दानी १५ लाख ४ हजार ९ सय ३१ र अन्य आम्दानीमा ७ लाख ५२ हजार ७ सय ७४ रूपैयाँ रहेको छ ।
देउजाका अनुसार, व्यय विवरणमा जम्मा खर्च २० लाख ९१ हजार ४ सय ९१ रूपैयाँ रहेको छ । संस्थाको नाफा १ लाख ६६ हजार २ सय १५ रहेको र संस्थाको शेयर पूँजी १ करोड ८ लाख ८५ हजार ८ सय रूपैयाँ रहेको छ ।
बचतकर्ताको धितो सुरक्षित हुनेगरी काम गर्न शुझाव दिँदै प्रमुख अतिथि तामाङले शेयर सदस्य थोरै भएपनि पुँजी धेरै रहेकोले सहकारी राम्रो रहेको जानकारी दिनुभयो ।
सदस्यहरू साधारणसभामा मात्र आउने गरेको भन्दै अन्य समयमा पनि सहकारीको बिषयमा शेयर सदस्यले चासो देखाउनुपर्ने कार्यक्रममा विशेष अतिथि मेलम्ची नगरपालिकाका उप प्रमुख उमा प्रधानले बताउनुभयो ।
सहकारी बिज्ञ नै बोलाएर अतिथि बनाउँदा सहकारीको उद्देश्य र नितिको बारेमा ज्ञान पाउन सकिने भन्दै त्यसमा सहकारीले ध्यान दिन गर्दै उहाँले सहकारीको मूल्य मान्यता अनुरूप चल्न आग्रह गर्नुभयो ।
समुदायका पिर मर्का माथी सहकारीले ध्यान दिनुपर्ने ९ का वडा अध्यक्ष किरणदिप खड्काले बताउनुभयो ।
संस्थाको बचत र ऋण लगानीमा तालमेल मिल्नुपर्ने उहाँले सुझाव दिनुभयो । संस्थाको बचत निक्षेप ३१ लाख ९१ हजार ३ सय ६० रहेको छ । साथै ऋण लगानी १ करोड ३७ लाख २३ हजार ५ सय ५२ रहेको छ ।
मेलम्ची ११ का वडा अध्यक्ष चन्द्र बहादुर तामाङले कुनै कुनै सहकारीले होटलको कोठामा बसेर साधारणसभा गरेको भन्दै सहकारीले सबैलाई समेट्नुपर्ने बताउनुभयो । सोही कार्यक्रममा शुभकामना सहकारीका अध्यक्ष रुद्र दुलालले एउटै कार्यक्षेत्रमा रहेका सहकारीहरुबिच सुमधुर सम्बन्ध र शेयर सदस्यहरुको हितमा काम गर्नुपर्ने सुझाव दिनुभयो ।
२४ पुष २०८१, बुधबार ११:४५