/*php the_title();*/?>

जनतापत्र। सिन्धुपाल्चोक । जुगल, २५ वैशाख २०८२ रीड नेपालको आयोजना, DESWOS को आर्थिक सहयोग र जुगल गाउँपालिकाको समन्वयमा शैक्षिक तथा शिक्षण सिकाइ सामग्री निर्माण (T-MI) सम्बन्धी सात दिने तालिम कार्यक्रम जुगल गाउँपालिकामा सुरु गरिएको छ। तालिम वैशाख २५ गतेदेखि ३१ गतेसम्म सञ्चालन हुनेछ। तालिममा जुगल गाउँपालिका वडा नं. ३, ५ र ७ का आधारभूत तहमा कार्यरत ६० जना शिक्षकहरूको सहभागिता रहेको छ।
कार्यक्रममा शिक्षकहरूलाई बालमैत्री, सक्रिय र सामग्री आधारित शिक्षण सिकाइ विधिबारे ज्ञान र सीप प्रदान गरिनेछ। तालिम उद्घाटन कार्यक्रममा जुगल गाउँपालिकाका अध्यक्ष श्री रेशम स्याङ्बो प्रमुख अतिथिका रूपमा सहभागी हुनु भयो। आफ्नो मन्तव्यमा अध्यक्ष स्याङ्बोले शिक्षकहरूको क्षमता विकासका लागि यस्ता तालिमहरू अपरिहार्य रहेको उल्लेख गर्दै सहभागीहरूलाई सिकेको व्यवहारमा उतार्न आग्रह गर्नु भयो। कार्यक्रममा गाउँपालिकाका अन्य जनप्रतिनिधि, शिक्षा शाखा प्रमुख, रीड नेपाल तथा DESWOS का प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो। उद्घाटन समारोहमा वक्ताहरूले सिकाइ सामग्रीको प्रयोगले बालबालिकाको सिकाइमा गुणात्मक सुधार ल्याउने विश्वास व्यक्त गरे।
तालिम अवधिभर सहभागी शिक्षकहरूलाई व्यावहारिक अभ्यास, समूह कार्य, प्रस्तुति र सामग्री निर्माणको अभ्यास गराइनेछ। तालिमपश्चात विद्यालयस्तरमा सिकाइ वातावरणमा परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।
२५ बैशाख २०८२, बिहीबार १३:१५