जातीय विभेद र छुवाछूत उन्मूलन राष्ट्रिय दिवस चौतारामा

सुनिता रखाल,सिन्धुपाल्चोक – “छुवाछूत मुक्त र जातीय विभेद रहित समाजको स्थापना र स्वस्थ समाजको निर्माण गरौं” भन्ने मूल नाराका साथ १२औं जातीय विभेद तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस आज चौतारा साँगचोकगढी नगरपालिकामा भव्य रूपमा सम्पन्न भएको छ।

नगर दलित समन्वय समितिको आयोजनामा तथा चौतारा साँगचोकगढी नगरपालिकाको आर्थिक सहयोगमा सम्पन्न कार्यक्रमले जातीय विभेद र छुवाछूतजस्ता सामाजिक कुरीतिहरू अन्त्य गर्ने प्रतिबद्धता दोहोर्याएको छ। कार्यक्रममा नगरपालिकाले सामाजिक न्याय, समानता र मानवअधिकारप्रति आफ्नो अटल प्रतिबद्धता पुनः पुष्टि गरेको छ।

कार्यक्रममा वक्ताहरूले जातीय विभेदले समाजमा ल्याएको असमानता, विखण्डन र व्यक्तिको जीवनमा पारेको नकारात्मक प्रभावबारे प्रकाश पारे। उनीहरूले यस्ता कुप्रथाहरू उन्मूलन गर्न सामूहिक प्रयासको आवश्यकता रहेकोमा जोड दिए।

उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरू, सामाजिक अगुवाहरू, युवावर्ग र सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले जातीय विभेद अन्त्य गर्न र समतामूलक समाज निर्माण गर्न सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाए।

चौतारा साँगचोकगढी नगरपालिकाले विगतदेखि नै विभेदविरोधी चेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको जनाउँदै, यस दिवसले सो अभियानलाई थप ऊर्जा प्रदान गरेको र समाजमा सकारात्मक परिवर्तन ल्याउन सघाउने विश्वास व्यक्त गरिएको छ।

कार्यक्रमले चौतारा साँगचोकगढी नगरपालिकाको सक्रिय सहभागिता र प्रतिबद्धतालाई उजागर गर्दै अन्य स्थानीय तहहरूलाई पनि यस्ता कार्यक्रमहरू सञ्चालन गर्न प्रेरणा दिने अपेक्षा गरिएको छ ।

२३ जेष्ठ २०८२, बिहीबार ०५:२१