चौतारा साङ्गाचोकगढी ८, ईर्खुमा विद्यालयमै अरिङ्गलको आक्रमण शिक्षक र विद्यार्थी घाइते

जनतापत्र, सिन्धुपाल्चोक ।
विहिबार बिहान करिब १०ः१५ बजे चौतारा साङ्गाचोकगढी नगरपालिका–८, ईर्खुस्थित श्री जनज्योती आधारभूत विद्यालयमा अरिङ्गलको झुण्ड प्रवेश गरी शिक्षक र विद्यार्थीमाथि आक्रमण गरेको छ। विद्यालयका प्रधानाध्यापक लक्ष्मी के।सी थापाका अनुसार, शिक्षक रिता हमाल ठकुरी र उर्मिला तामाङ ठकुरीलाई करिब सात–सात वटा अरिङ्गलले टोकेका छन। साथै, केही विद्यार्थी पनि आक्रमणबाट घाइते भएका छन्। घाइतेहरूलाई स्थानीय अभिभावक र विद्यालय प्रशासनको सहयोगमा तत्काल चौतारा अस्पताल पु‍र्‍याइएको छ।
अस्पतालका चिकित्सकका अनुसार सबै घाइतेहरूको अवस्था सामान्य छ, तर अरिङ्गलको विषका कारण असहजता र दुखाइ बढेको बताइएको छ।घटनापछि विद्यालयमा केही समयका लागि पठन–पाठन स्थगित गरिएको थियो। प्रधानाध्यापक थापा भन्नुहुन्छ, “घटना निकै भयावह थियो। विद्यार्थीहरू चिच्याउँदै भागेका थिए। अहिले अवस्था नियन्त्रणमा छ।” स्थानीयहरूले अरिङ्गलको घोँसाको खोजी गरी नियन्त्रणमा लिन सरोकारवालालाई आग्रह गरेका छन्।

२३ आश्विन २०८२, बिहीबार १६:१८