/*php the_title();*/?>

आइसिँ तामाङ ,चौतारा सिन्धुपाल्चोक ।
चौतारा साँगाचोकगढी नगरपालिकाका महिलाहरूको सशक्तिकरण र आत्मनिर्भरता अभिवृद्धिका लागि सञ्चालित ६५ दिने एडभान्स पार्लर तालिम र १ महिनाको गलैंचा बुनाई तालिमको संयुक्त समापन कार्यक्रम वडा नं. ५ मा सम्पन्न भएको छ।
कार्यक्रममा नगर प्रमुख कृष्णप्रसाद सापकोटाले यस्ता सिपमूलक तालिमहरूले महिलालाई आत्मनिर्भर बनाउने मात्र नभई समृद्ध नगरको आधार तयार गर्ने बताउनु भएको छ । उहाँले सिकेका सीपलाई व्यवसायमा रूपान्तरण गर्न सहभागीहरूलाई प्रेरित गर्नु भएको छ ।
चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ५ का अध्यक्ष शिव श्रेष्ठले एकैपटक दुई सिप तालिम सम्पन्न गर्नु गौरवको विषय भएको बताउँदै, महिलाहरूले व्यवहारिक प्रयोगमा सीप उतार्नुपर्नेमा जोड दिनु भएको छ ।
पार्लर तालिम जिल्ला लघु उद्यमी संघ सिन्धुपाल्चोकको आयोजनामा र गलैंचा तालिम वडा स्तरीय महिला सञ्जालको संयोजनमा सञ्चालन गरिएको हो।
प्रशिक्षकहरूका अनुसार सहभागी महिलाहरू व्यवसाय थाल्न सक्ने अवस्थामा पुगेका छन् भने भविष्यमा कुशल प्रशिक्षकका रूपमा पनि विकास हुने अपेक्षा गरिएको छ।
समापनमा प्रमाणपत्र वितरणका साथै गलैंचा तालिम सहभागीहरूलाई तान धागो प्रदान गरिएको थियो। कार्यक्रममा जनप्रतिनिधि, प्रशिक्षक, संघ–संस्था प्रतिनिधि, सञ्चारकर्मी तथा सहभागिता जनाएका महिलाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
३१ जेष्ठ २०८२, शुक्रबार १७:२०