सुनिता रखाल, सिन्धुपाल्चोक ।
चौतारा साँगाचोकगढी नगरपालिकाले विकास निर्माण तथा खानेपानी आयोजनाको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न विभिन्न योजनाको स्थलगत अनुगमनलाई तीव्रता दिएको छ। नगरपालिकाले सञ्चालन गरिरहेका पूर्वाधार, खानेपानी तथा सामुदायिक संरचनासम्बन्धी योजनाहरू गुणस्तरीय, पारदर्शी र समयमै सम्पन्न होउन् भन्ने उद्देश्यले नियमित अनुगमन तथा निरीक्षण कार्यक्रम सञ्चालन गरिएको जनाएको छ।
नगरपालिकाकी उपप्रमुख सिता थापा, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम घिमिरे, योजना शाखा प्रमुख दुर्गा ढुङ्गेल तथा इन्जिनियर गोविन्दप्रसाद सापकोटा सहितको टोलीले विभिन्न वडामा सञ्चालित योजनाको निरीक्षण गरेको हो। टोलीले योजनाको प्रगति, निर्माण गुणस्तर, बजेटको अवस्था तथा कार्यान्वयन प्रक्रियाबारे स्थलगतमै जानकारी लिँदै आवश्यक निर्देशनसमेत दिएको थियो।

अनुगमनका क्रममा वडा नं. ९ मा सञ्चालित जितपुर लिफ्ट खानेपानी आयोजना र गोर्सु खानेपानी आयोजना अन्तर्गत निर्माण भइरहेको परम्परागत धाराको निरीक्षण गरिएको थियो। प्रदेश सरकारको सशर्त अनुदानअन्तर्गत सञ्चालन भएका दुवै योजनाको लागत २५÷२५ लाख रुपैयाँ रहेको जनाइएको छ। ती योजनाले स्थानीय बासिन्दालाई सहज रूपमा स्वच्छ खानेपानी उपलब्ध गराउने अपेक्षा गरिएको छ। विशेषगरी पानीको समस्या झेलिरहेका ग्रामीण बस्तीलाई लक्षित गरी आयोजना अघि बढाइएको नगरपालिकाले जनाएको छ।
जितपुर लिफ्ट खानेपानी आयोजनाबाट करिब ३०० घरधुरी प्रत्यक्ष रूपमा लाभान्वित हुने बताइएको छ। स्थानीय स्रोतको संरक्षण गर्दै दीर्घकालीन रूपमा खानेपानी समस्या समाधान गर्ने लक्ष्यसहित योजना सञ्चालन गरिएको हो। लामो समयदेखि खानेपानी अभाव झेल्दै आएका स्थानीयवासीले आयोजना सम्पन्न भएपछि सहज रूपमा घरघरमा पानी पुग्ने विश्वास व्यक्त गरेका छन्।
त्यसैगरी गोर्सु खानेपानी आयोजना अन्तर्गत निर्माण भइरहेको परम्परागत धारा संरक्षण तथा पुनःनिर्माण कार्यको पनि टोलीले निरीक्षण गरेको थियो। पुराना धारा तथा पानीका स्रोत संरक्षण गर्दै आधुनिक व्यवस्थापनमार्फत स्थानीय समुदायलाई सेवा दिने उद्देश्यले योजना सञ्चालन गरिएको जनाइएको छ। नगरपालिकाले परम्परागत संरचनाको संरक्षणसँगै स्थानीय संस्कृति र पहिचान जोगाउने प्रयाससमेत गरेको बताएको छ।
अनुगमन टोलीले वडा नं. ११ को साङाचोक मानेडाँडामा निर्माणाधीन छिमिटासी–छिलिङ गुम्बा पर्खाल तथा बुट्टा निर्माण कार्यको पनि निरीक्षण गरेको थियो। उक्त योजनाअन्तर्गत पर्खाल निर्माणका लागि ४० लाख रुपैयाँ तथा बुट्टा निर्माणका लागि १० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण गर्दै पर्यटकीय आकर्षण बढाउने उद्देश्यले योजना सञ्चालन गरिएको स्थानीय जनप्रतिनिधिले बताएका छन्।

गुम्बा आसपासको क्षेत्रमा पूर्वाधार विकास भएपछि धार्मिक पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। स्थानीयवासीले योजना सम्पन्न भएपछि क्षेत्रको सौन्दर्य बढ्नुका साथै धार्मिक गतिविधि सञ्चालन गर्न सहज हुने बताएका छन्। नगरपालिकाले धार्मिक तथा सांस्कृतिक क्षेत्रलाई समेत प्राथमिकतामा राख्दै आवश्यक पूर्वाधार निर्माणलाई निरन्तरता दिएको जनाएको छ।
यस्तै वडा नं. १३ ठुलोसिरुवारीमा सञ्चालन भइरहेको रोक्काटोल बहुवर्षीय खानेपानी आयोजनाको पनि टोलीले अनुगमन गरेको थियो। सङ्घ विशेष कार्यक्रमअन्तर्गत सञ्चालन भइरहेको उक्त आयोजना अहिले तेस्रो वर्षमा प्रवेश गरेको छ। योजनाको कुल लागत ६५ लाख रुपैयाँ रहेको नगरपालिकाले जनाएको छ। आयोजना सम्पन्न भएपछि ५०० भन्दा बढी घरधुरी प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ।
स्थानीयवासीलाई वर्षौंदेखि रहेको खानेपानी समस्या समाधान गर्न योजना महत्वपूर्ण हुने विश्वास गरिएको छ। विशेषगरी टाढाबाट पानी बोकेर ल्याउनुपर्ने बाध्यता हट्ने र स्वच्छ खानेपानीको पहुँच विस्तार हुने अपेक्षा गरिएको छ। नगरपालिकाले खानेपानीलाई आधारभूत आवश्यकतासँग जोडेर प्राथमिकताका साथ योजना सञ्चालन गरिरहेको जनाएको छ।
अनुगमन टोलीले विभिन्न योजनाको प्रगति सन्तोषजनक देखिए पनि निर्माण कार्यलाई थप व्यवस्थित र गुणस्तरीय बनाउन आवश्यक रहेको उल्लेख गरेको छ। टोलीले उपभोक्ता समिति, निर्माण व्यवसायी तथा सम्बन्धित सरोकारवालालाई निर्धारित मापदण्डअनुसार काम गर्न निर्देशन दिएको थियो। निर्माण सामग्रीको गुणस्तर, कामको गति तथा बजेट कार्यान्वयनमा विशेष ध्यान दिनसमेत आग्रह गरिएको छ।

नगरपालिकाले सम्पन्न भएका योजनाको मूल्याङ्कन गरी भुक्तानी प्रक्रियालाई अगाडि बढाउने तयारी भइरहेको जनाएको छ। साथै समयमै योजना सम्पन्न नगर्ने तथा गुणस्तरमा लापरवाही गर्ने पक्षलाई आवश्यक कारबाही गरिने चेतावनीसमेत दिइएको छ। स्थानीय तहबाट सञ्चालन हुने विकास योजनामा पारदर्शिता, जवाफदेहिता र गुणस्तर कायम गर्न नियमित अनुगमनलाई निरन्तरता दिइने नगरपालिकाले जनाएको छ। छ।
७ जेष्ठ २०८३, बिहीबार २०:०१