/*php the_title();*/?>

आईसिँ तामाङ, डडुवा सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी–१४ स्थित ऐतिहासिक थानबारे डाँडामा लोकप्रिय समाचार राष्ट्रिय दैनिकले आफ्नो स्थापना दिवस तथा प्रकाशक नेत्र बहादुर बस्नेतको जन्मदिनको अवसरमा ‘जन्मदिनलाई सत्कर्ममा जोडौं अभियान’ अन्तर्गत वृक्षरोपणसहित ‘जन्मोत्सव पार्क’ निर्माणको शुभारम्भ गरेको छ। अंग्रेजहरूसँगको युद्धमा अभिमानसिंह बस्नेतको नेतृत्वमा गोर्खाली सेनाले सोही स्थानबाट विजय प्राप्त गरेको, डाँडाबाट काठमाडौं उपत्यका र हिमाल देखिने भएकाले यहाँ नेपालको झण्डा फहराइएको त्यहाँका बृद्धहरूले बताएका थिए। त्यसपछि लोकप्रिय समाचार राष्ट्रिय दैनिकले आफ्नो स्थापना दिवस तथा प्रकाशक नेत्रबहादुर बस्नेतको जन्मदिनको अवसरमा यो अभियान थालनी गरेको हो।

उक्त स्थानमा पुराना बंकर र बन्दोबस्तीका लागि तयार पारिएका सुरुङहरू फेला परेकाले संरक्षण र विकास गर्नुपर्ने भएकाले पार्क निर्माण अभियान सुरु गरिएको आयोजक नेत्रबहादुर बस्नेतले बताए। कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद सापकोटा, विशेष अतिथि वडा अध्यक्ष उद्धब नेपाल, अवधारणाकार गोविन्द प्रसाद चौलागाईं, जिल्ला प्रहरी प्रमुख रामेश्वर कार्की, सशस्त्र प्रहरी उपरीक्षक अच्युतकुमार मजगैया, सञ्चार केन्द्रका महासचिव कृष्णकुमार यादव लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भयो। राम्चे सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष बलराम बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा प्रजिअ सापकोटाले हरेक नागरिकले जन्मदिनमा यसरी वृक्षरोपण गर्दा राष्ट्रको विकासमा योगदान पुग्ने बताउँदै थानबारे डाँडालाई ऐतिहासिक सम्पदा भएकाले यसको विकासमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

त्यसैगरी अभियन्ता गोविन्द चौलागाईंले “जन्मदिनलाई सत्कर्ममा जोडौँ” अभियान रौतहटबाट सुरु भई काभ्रेपछि तेस्रो जिल्लाको रूपमा सिन्धुपाल्चोकमा आएको र थानबारे डाँडामा जन्मोत्सव पार्क बन्ने पहिलो भएको बताए। उनले नेत्रबहादुर बस्नेतलाई जन्मदिनकै दिन अभियान थालनी गरेकोमा विशेष धन्यवाद पनि दिए। कार्यक्रममा डिभिजनल बन अधिकृत मदन कडेलले पार्क निर्माणका लागि आवश्यक सहयोग गर्ने तथा वृक्षरोपणका लागि निःशुल्क बिरुवा उपलब्ध गराउने जानकारी दिए। वडा अध्यक्ष उद्धब नेपालले पनि यो अभियानलाई निरन्तरता दिने र वडा कार्यालयबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाए। त्यस्तै डडुवा भवानीशंकर माविका प्राचार्य बद्री प्रसाद नेपालले वडाध्यक्ष उद्धब नेपालका २ वर्षका छोरा उत्सव नेपाल, नेत्रज्योति कृषि सहकारी अध्यक्ष कृष्णबहादुर नेपाल लगायतलाई जन्मदिनको शुभकामना दिँदै नेत्रबहादुर बस्नेतको ऐतिहासिक योगदानको प्रशंसा गरे।

कार्यक्रम सञ्चालन प्रकाशक नेत्रबहादुर बस्नेत स्वयंले गर्दै जन्मोत्सव पार्क निर्माणमा लोकप्रिय समाचार राष्ट्रिय दैनिक अग्रसर रहने बताए। समापन गर्दै सभापति बलराम बस्नेतले थानबारे डाँडाको ऐतिहासिक महत्वलाई देशव्यापी चिनाउने कार्य भएको उल्लेख गर्दै सबै नागरिकले एक–एक विरुवा रोपी हरियाली बनाउने सन्देश दिए। कार्यक्रममा सहभागी सबैले एक–एक विरुवा रोपे। कार्यक्रममा सञ्चारकर्मी तथा स्थानीयवासीहरूको समेत व्यापक सहभागिता थियो।
४ आश्विन २०८२, शनिबार १८:४५