चौताराको मिनि रंगशाला निर्माणमा पुनः गति,

जनतापत्र, चौतारा ।
चौतारामा निर्माणाधीन मिनि रंगशालाको काम फेरि अगाडि बढ्न थालेको छ । बागमती प्रदेश सरकारको लगानीमा निर्माण भइरहेको यो रंगशाला असार मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

२०७७ असार २३ गते सुरु भएको परियोजना १८ महिनाभित्र सक्ने योजना थियो । तर, तोकिएको समयमा काम पूरा नभएपछि दुई पटक म्याद थपेर पनि २०८० चैतसम्म सम्पन्न गर्न नसक्दा ठेक्का तोडिएको थियो । खरिद नियमावली संशोधन भई अलपत्र परेका योजनालाई थप एक वर्ष समय दिन मिल्ने व्यवस्था भएपछि चौताराको रंगशाला पुनः निरन्तरता पाएको हो ।

हालसम्म करिब ५० प्रतिशत मात्र काम सम्पन्न भएको सामाजिक विकास कार्यालय धुलिखेलका इन्जिनियर कुशुम भट्टराईले जानकारी दिनुभयो । उनका अनुसार प्यारापिट ढलान, मैदानमा पानी निकास, ग्राभेल तथा बालुवा फिलिङ, सर्भिस लेन, टिकट घर, फ्लडलाइट र डिजिटल डिस्प्ले बोर्ड जडानजस्ता काम अझै बाँकी छन् ।

यद्यपि, निर्माण व्यवसायीहरूले अघिल्लो चरणमा सम्पन्न करिब दुई करोड रुपैयाँ बराबरको कामको भुक्तानी अझै नपाएको भन्दै असन्तुष्टि जनाएका छन् ।

३१ भाद्र २०८२, मंगलवार ११:२१