चालु आर्थिक बर्षको ८ महिनामा २९ अर्ब वैदेशिक लागनी प्रतिबद्धता

काठमाडौं । चालु आर्थिक बर्षको हाल सम्म २५३ वटा नयाँ र ३३ वटा सञ्चालनमा रहेका उद्योगमा गरि कुल २९ अर्ब १३ करोड ४५ लाख रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता आएको छ । विदेशी लगानीकर्ताले हालसम्म ६ हजार ११२ वटा नयाँ उद्योगमा ४ खर्ब ७९ अर्ब १० करोड ३४ लाख रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता जनाएका छन् ।

चालु आर्थिक वर्षको फागुनमा मात्रै ६ अर्ब ६७ करोड रुपैयाँ भन्दाबढीको वैदेशिक लगानी प्रतिबद्धता आएको छ । जुन साउनपछिकै सबैभन्दा बढी हो । साउनमा ११ अर्ब ९६ करोड रुपैयाँ भन्दाबढीको वैदेशिक लागनी प्रतिबद्धता प्राप्त भएको छ ।

उद्योग विभागको तथ्याङ्कअनुसार गत साउनमा नयाँ उद्योग र सञ्चालनमा रहेका उद्योग अर्थात् शेयर पर्चेज एग्रीमेन्ट (एसपीए), एसएसए सब्स्क्रिप्सन एग्रीमेन्ट (एसएसए)÷टेक्नोलोजी ट्रान्सफर एग्रीमेन्ट (टीटीए) जस्ता क्षेत्रमा वैदेशिक लगानीको प्रतिवद्धता आएको हो ।

त्यस्तै भदौमा ५ अर्ब ८५ करोड ८५ लाख रुपैयाँ, असोजमा ३ अर्ब ६३ करोड ४९ लाख रुपैयाँ, कात्तिकमा १ अर्ब ८० करोड ६३ लाख रुपैयाँ, मंसिरमा २ अर्ब ५६ करोड १९ लाख रुपैयाँ, पुसमा १ अर्ब ९८ करोड ९५ लाख रुपैयाँ र माघमा १ अर्ब ११ करोड ६ लाख रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता जनाएका थिए ।

चालु आर्थिक वर्षको फागुनसम्ममा विदेशी लगानीकर्ताहरुले साना उद्योगमा बढी लगानी गरेको पाइएको छ । जसमा विदेशीहरुले २३८ वटा साना, १२ वटा मध्यम र ३ वटा ठूला उद्योगमा लगानी गरेका छन् ।

लगानीकर्ताहरुको आकर्षणको क्षेत्र पर्यटन रहेको विभागको तथ्याङ्कले देखाउँछ । चालु आवको फागुनसम्ममा पर्यटन क्षेत्रमा ११५ वटा उद्योग अर्थात् ४५ प्रतिशत लगानी प्रतिबद्धता जनाएका छन् । पर्यटनपछि सेवा क्षेत्रमा ८८ वटा, उत्पादन क्षेत्रमा ३० वटा, पूर्वाधार क्षेत्रमा ६ वटा, सूचना तथा प्रविधि क्षेत्रमा ८ वटा, कृषिमा ४ वटा र खानी क्षेत्रमा २ वटा उद्योगमा लगानी प्रतिबद्धता जनाएका छन् ।

त्यसैगरी, सोही अवधिमा १५ सय ९२ जनाले लगानीकर्ताले बिजनेस भिसा लिएका छन् । त्यसबाहेक लगानीकर्ताको २१३ जना प्रतिनिधि र ६३७ जनाले डिपेन्डेन्ट भिसा लिएका छन् ।

साढे १२ अर्ब रुपैयाँ विदेश लैजान प्रस्ताव

विदेशी लगानीकर्ताहरुले चालु आवको फागुन मसान्तसम्ममा २९ अर्ब रुपैयाँ विदेशी लगानी प्रतिबद्धता जनाउँदा नेपालमा सञ्चालनमा रहेका विदेशी कम्पनीमार्फत सेवा दिई नाफा कमाएका रकम विदेश लैजान प्रस्ताव गरेका छन् । विभागमा सोही अवधिमा १२ अर्ब ३५ करोड २४ लाख रुपैयाँ विदेश लैजान विभागमा प्रस्ताव पेश गरेका छन् ।

विदेशी लगानीकर्ताहरुले रोयल्टीवापत ३ अर्ब ७७ करोड ५५ लाख रुपैयाँ विदेश लैजान प्रस्ताव विभागमा पेश गरेका छन् । जसमा १ अर्ब ५३ करोड ५७ लाख रुपैयाँ, १ करोड २ लाख ६५ हजार अमेरिकी डलर (१ अर्ब ३५ करोड ७८ लाख रुपैयाँ), ५४ करोड ९९ लाख रुपैयाँ भारतीय रुपैयाँ (८७ करोड ९९ लाख रुपैयाँ) र १३ हजार ६ सय युरो (१९ लाख रुपैयाँ) रोयल्टीवापत रकम लैजान प्रस्ताव पेश गरेका छन् ।

सोही अवधिमा विदेशीहरुले ८ अर्ब ५० करोड ६६ लाख रुपैयाँ लाभांसवापतको रकम लैजान प्रस्ताव गरेका छन् । साथै, सेवावापतको रकम भनेर विदेशी लगानीकर्ताले ७ करोड २ लाख रुपैयाँ विदेशमा लैजान प्रस्ताव पेश गरेका छन् ।

३ चैत्र २०८०, शनिबार ०३:११