/*php the_title();*/?>
नवराज न्यौपाने
मेलापात जाँदाखेरि माया हाम्रो बस्यो
बाध्यताले विदेश आएँ तिम्रो आँशु खस्यो
गामबेसी मेलापात आज कता गयो
गाउँ रित्तो भएपछि शहर घना भयो
चौतारीमा वरपीपल थकाइ मार्ने थलो
जमाना नै अर्कै भयो कस्ले जोतोस् हलो
चउरमा सँगै खेल्थ्यौँ चित्र मनमा पस्यो
बाध्यताले विदेश आएँ तिम्रो आँशु खस्यो
रूख चढी साल काट्थें तिमी भारी कस्थ्यौ
स्वस्थानीको कथा भन्थें तिमी व्रत बस्थ्यौ
दाउरा काट्दा मल बोक्दा गीत घन्काएर
लुकीलुकी हेर्थें मैले आँखा तन्काएर
चोरगौंडाको चौतारीले मायाजाल कस्यो
बाध्यताले विदेश आएँ तिम्रो आँशु खस्यो
पैसा के हो पापा के हो नौलो कुरा थियो
जमानाले कोल्टे फेर्दा गरीब बनाइदियो
ऐँचोपैँचो, पर्मओर्म आज छैन हेर
रुन्छ मन बाल्यकाल सधैं सम्झिएर
दुनियाँले हिसाब खोज्यो, जमानाले डस्यो
बाध्यताले विदेश आएँ तिम्रो आँशु खस्यो ।
–बालागाउँ,
मातातीर्थ, काठमाडौं
(साहित्यपोष्ट)
१० आश्विन २०८१, बिहीबार १३:२६