
जनतापत्र,सिन्धुपाल्चोक ।
खाजाघर सञ्चालनको नाममा अनैतिक गतिविधि गराएको आरोपमा प्रहरीले सिन्धुपाल्चोकका दुई जनालाई नियन्त्रणमा लिएको छ। नियन्त्रणमा पर्नेमा इन्द्रावती गाउँपालिका–९ की ३७ वर्षीया सुकुमाया तामाङ र इन्द्रावती–४ का ३१ वर्षीय प्रमोद तामाङ रहेका छन्। उनीहरूलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले काठमाडौंबाट पक्राउ गरेको हो। प्रारम्भिक अनुसन्धानका आधारमा उनीहरूले खाजाघर सञ्चालन गर्दै आएका स्थानहरूलाई आवरण बनाएर यौनधन्दा गराउँदै आएको खुलेको प्रहरीले जनाएको छ। साथै, राम्रो तलबको प्रलोभन देखाएर युवतीहरूलाई काममा ल्याई त्यसमा संलग्न गराइएको आशंका गरिएको छ। उक्त घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका दुवैजनामाथि मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको छ। यसका लागि काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।
१९ चैत्र २०८२, बिहीबार १३:१५