
जनतापत्र, काठमाण्डौ — दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुँदैछ। उद्घाटन समारोह दिउँसो २ बजे आयोजना हुनेछ भने पहिलो खेल साँझ ४ बजे निर्धारित गरिएको छ।
मंसिर २७ गतेसम्म जारी रहने प्रतियोगितामा लिग चरण, तीन प्लेअफ र फाइनल गरी कुल ३२ खेल खेलाइनेछन्। उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्स र काठमाण्डौ गुर्खाज भिड्नेछन्। एनपीएलमा जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाण्डौ गुर्खाज र लुम्बिनी लायन्स गरी आठ टोली सहभागी छन्, जसमा विदेशी खेलाडीहरू पनि समावेश छन्। क्रिकेट सङ्घ (क्यान) का अनुसार ३२ मध्ये २३ खेल राति फ्लडलाइटअन्तर्गत हुनेछ। लिग चरणको अन्तिम खेल मंसिर २१ मा तय गरिएको छ। यस संस्करणका लागि रङ्गशालामा १० हजार दर्शक क्षमताको नयाँ प्यारापिट निर्माण गरिएको छ। विजेता टोलीले एक करोड १० लाख रुपैयाँ पुरस्कार पाउनेछ भने उपविजेताले ५१ लाख प्राप्त गर्नेछ। तेस्रो स्थान हासिल गर्ने टोलीलाई २५ लाख र चौथो हुनेले १५ लाख रुपैयाँ प्रदान गरिनेछ। क्यानले दैनिक ९ हजार ४५० टिकट बिक्रीमा राख्ने जानकारी दिएको छ।
२ मंसिर २०८२, सोमबार १२:०१