काठमाडौं उपत्यकामा निषेधाज्ञा र कर्फ्यू खुकुलो, आवश्यक सेवालाई अनुमति

बिहान ६ बजेदेखि १० बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म सर्वसाधारणलाई आवतजावत गर्न अनुमति

जनतापत्र, काठमाडौं, – नेपाली सेनाले काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा जारी निषेधाज्ञा र कर्फ्यूलाई क्रमबद्ध रूपमा खुकुलो बनाउँदै निरन्तरता दिने निर्णय गरेको छ। जनसम्पर्क तथा सूचना निर्देशनालय, जङ्गी अड्डाका अनुसार नागरिकको जनधनको सुरक्षाका लागि यो आदेशलाई निरन्तरता दिन आवश्यक देखिएको हो।

सेनाले आज बिहान ६ बजेदेखि १० बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म सर्वसाधारणलाई आवतजावत गर्न अनुमति दिएको छ। यस्तै, निषेधाज्ञा र कर्फ्यूको समयमा अत्यावश्यक सेवाहरू जस्तै एम्बुलेन्स, शव वाहन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, खाद्यान्न, इन्धन, दूध, तरकारी, पानी र औषधी ढुवानी गर्ने सवारी साधन सञ्चालन गर्न सकिने जनाइएको छ।

सरकारी कार्यालय, बैंक, वित्तीय संस्था र सार्वजनिक संस्थानमा कार्यरत कर्मचारीहरूले आफ्नो परिचय पत्र देखाएर कार्यालय आवतजावत गर्न पाउनेछन्। त्यस्तै, आन्तरिक र अन्तर्राष्ट्रिय उडानका यात्रुहरूले आफ्नो टिकट देखाएर विमानस्थलसम्म जान सक्नेछन्।

काठमाडौं उपत्यका बाहिरका जिल्लाहरूमा भने सम्बन्धित जिल्लाको सुरक्षा परिस्थिति हेरी जिल्ला सुरक्षा समितिको निर्णय र समन्वयअनुसार व्यवस्था हुने नेपाली सेनाले जनाएको छ।

२६ भाद्र २०८२, बिहीबार ०७:२८