/*php the_title();*/?>

आइसिँ तामाङ,चौतारा सिन्धुपाल्चोक ।
नेपाल राष्ट्रिय शिक्षक संगठन, जिल्ला समिति सिन्धुपाल्चोकले २०८१ सालको एसईई परीक्षामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई मंगलबार चौतारामा एक विशेष समारोहमार्फत सम्मान गरेको छ। कार्यक्रममा जिल्लाका १२ वटै स्थानीय तहबाट सामुदायिक विद्यालयतर्फ पालिकागत रूपमा टप गर्ने विद्यार्थीहरू तथा संस्थागत विद्यालयतर्फबाट जिल्लामै उत्कृष्ट नतिजा ल्याउने १७ जना विद्यार्थीलाई बधाई तथा सम्मान प्रदान गरिएको हो। सम्मानित विद्यार्थीहरूमा ४ जीपीए हासिल गर्ने ६ जना र अन्य पालिकागत उत्कृष्टता देखाउने विद्यार्थीहरू छन्। उनीहरूमा चौताराबाट रोजिना स्याङतान, इन्द्रावतीका अबिरल श्रेष्ठ, पाँचपोखरीका आशिष बम्जन, बलेफीका सृष्टी नेपाल, शुभेक्षा श्रेष्ठ र म्हेन्दो लामा, जुगलका प्रशान्त चाम्सल र आयुष सापकोटा, सुनकोशीका सन्दीप खड्का, मेलम्चीका प्रशान्त चालिसे, सबिना थापा र सन्तोष गिरी, लिसंखुकी फुर्साङ तामाङ र हेलम्बुका गौरव शर्मा रहेका छन्। सो अवसरमा शिक्षक संगठनका निवर्तमान अध्यक्ष मैयाँ पौडेललाई राष्ट्रिय समितिमा निर्वाचित भएकोमा विशेष बधाई र सम्मान समेत प्रदान गरिएको थियो। कार्यक्रममा बागमती प्रदेश अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ प्रमुख अतिथि थिए भने एमाले जिल्ला अध्यक्ष होमनारायण श्रेष्ठ र राष्ट्रिय समिति सदस्य मैयाँ पौडेल विशेष अतिथि रहनुभएको थियो।
कार्यक्रम जिल्ला अध्यक्ष कृष्णबहादुर श्रेष्ठको अध्यक्षता र सचिव लेखनाथ भट्टराईको सञ्चालनमा सम्पन्न भएको थियो।
७ श्रावण २०८२, मंगलवार २०:५३