एमाले : समाधान संविधान र लोकतान्त्रिक प्रक्रियाबाटै सम्भव

जनतापत्र, काठमाडौं,
प्रधानमन्त्रीको राजीनामापछि बनेको अनिश्चित राजनीतिक परिस्थितिमा नेकपा (एमाले) ले समाधानको बाटो संविधान र लोकतान्त्रिक अभ्यासभित्रै खोजिनुपर्ने जनाएको छ।

पार्टी महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवालीले संयुक्त वक्तव्य सार्वजनिक गर्दै नयाँ पुस्ताले अगाडि सारेका मागलाई संवैधानिक र लोकतान्त्रिक प्रक्रियामार्फत सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन्।

वक्तव्यमा भनिएको छ, “राजनीतिक निकास संवैधानिक र लोकतान्त्रिक बाटाबाटै खोजिनुपर्छ। परिणाममुखी संवाद र सहमतिबाट मात्रै सुशासन, सहज सेवा प्रवाह र तीव्र विकासको आकांक्षा पूरा गर्न सकिन्छ।” यसै सन्दर्भमा राष्ट्रपतिलाई सक्रिय भूमिका खेल्न आग्रह गरिएको छ।

एमालेले लोकतान्त्रिक गणतन्त्र र बहुदलीय प्रतिस्पर्धा प्रणालीलाई कमजोर पार्ने कुनै प्रयास अस्वीकार्य हुने चेतावनी पनि दिएको छ। समाधानका सबै प्रयासले लोकतन्त्रलाई थप सबल बनाउनुपर्नेमा पार्टीको जोड छ।

त्यस्तै, पछिल्ला घटनाक्रममा देशभर देखिएको लुटपाट, आगजनी र तोडफोड नियन्त्रण गर्न तथा नागरिकको ज्यान–धन सुरक्षित राख्न नेपाली सेनासहित सम्पूर्ण सुरक्षा निकायलाई जिम्मेवार ढंगले खटिन आग्रह गरिएको छ।

२६ भाद्र २०८२, बिहीबार ०७:३६