एमालेको केन्द्रीय सचिवालय बैठक कात्तिक १५ गते बस्ने

जनतापत्र, सिन्धुपाल्चोक ।
एघारौं महाधिवेशनको तयारीमा जुटेको नेकपा ९एमाले० ले पार्टीको केन्द्रीय सचिवालय बैठक कात्तिक १५ गते बस्ने निर्णय गरेको छ। सो बैठकले महाधिवेशनसँग सम्बन्धित विभिन्न निर्णय गर्ने पार्टीले जनाएको छ। असोज २७ देखि २९ गतेसम्म सम्पन्न केन्द्रीय कमिटी बैठकले एघारौं महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म पोखरामा गर्ने निर्णय गरेको थियो। पार्टीका कार्यालय सचिव भीष्म अधिकारीका अनुसार, कात्तिक १५ गते बस्ने सचिवालय बैठकमा महाधिवेशन प्रतिनिधि छनोट विधि, महाधिवेशन सम्पन्न गर्न विभिन्न उपसमिति गठन, स्थानीय आयोजकसँग समन्वयलगायत विषयमा निर्णय गरिनेछ। सचिवालयका एक नेताका भनाइअनुसार, सो बैठकले महाधिवेशन तयारीको पूर्ण खाका सार्वजनिक गर्ने र महाधिवेशनको लोगो तथा नाराका विषयमा पनि छलफल गर्ने योजना रहेको छ। यसैबीच, पार्टीको गण्डकी प्रदेश कमिटी, कास्की जिल्ला कमिटी र पोखरा महानगर कमिटीले महाधिवेशनको प्रारम्भिक तयारी सुरु गरिसकेका छन्। भदौ २४ गतेको आगलागीमा च्यासलस्थित पार्टी केन्द्रीय कार्यालय जलेपछि सोही स्थानमा पाल टाँगेर अस्थायी कार्यालय सञ्चालन गरिएको छ। त्यही कार्यालयबाट दैनिक कामसँगै महाधिवेशन केन्द्रित गतिविधि पनि सुरु गरिएको कार्यालय सचिव अधिकारीले जानकारी दिएका छन्।

१२ कार्तिक २०८२, मंगलवार १३:२२