/*php the_title();*/?>

जनतापत्र, सिन्धुपाल्चोक ।
नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी हुनुभएको छ। अध्यक्ष पदका लागि भएको निर्वाचनमा ओलीले १ हजार ६६३ मत प्राप्त गर्दा अर्का उम्मेदवार ईश्वर पोखरेलले ५ सय ६४ मत पाउनुभएको छ। यससँगै ओली तेस्रो कार्यकालका लागि एमाले अध्यक्षमा निर्वाचित हुनुभएको हो। यसअघि उहाँ २०७१ सालमा सम्पन्न नवौँ महाधिवेशनमा माधवकुमार नेपाललाई ४४ मतले पराजित गर्दै पहिलो पटक अध्यक्षमा निर्वाचित हुनुभएको थियो। पूर्वमहासचिवसमेत रहनुभएका ईश्वर पोखरेल भने अध्यक्ष पदका लागि पहिलो पटक प्रतिस्पर्धामा उत्रिनुभएको हो। महाधिवेशनबाट निर्वाचित १९ पदाधिकारीमध्ये उपाध्यक्षमा गोकर्ण विष्ट र उपमहासचिवमा योगेश भट्टराई बाहेक सबै ओली समूहबाट निर्वाचित भएका छन्।

पाँच उपाध्यक्ष पदमा पृथ्वीसुब्बा गुरुङ, विष्णुप्रसाद पौडेल, रामबहादुर थापा ‘बादल’, गोकर्ण विष्ट र रघुजी पन्त विजयी हुनुभएको छ। महासचिव पदमा शङ्कर पोखरेल निर्वाचित हुनुभएको छ। उहाँले प्रतिस्पर्धी सुरेन्द्रप्रसाद पाण्डेलाई पराजित गर्नुभएको हो। पोखरेलले १ हजार २२८ मत प्राप्त गर्दा पाण्डेले ९९९ मत पाउनुभएको छ। पोखरेल यसअघि पनि महासचिव रहनुभएको थियो। तीन सदस्यीय उपमहासचिव पदमा लेखराज भट्ट, योगेश भट्टराई र रघुवीर महासेठ निर्वाचित हुनुभएको छ। त्यसैगरी नौ सदस्यीय सचिव पदमा महेश बस्नेत, पद्माकुमारी अर्याल, शेरधन राई, यामलाल कँडेल, राजन भट्टराई, छविलाल विश्वकर्मा, खगराज अधिकारी, हिक्मत कार्की र भानुभक्त ढकाल विजयी हुनुभएको छ।
३ पुष २०८२, बिहीबार १७:४५